• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

जब उपप्रधानमन्त्रीले माटोलाई ढोगे…

काठमाडाैं । उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने वित्तिकै माटोलाई ढोगेका छन् ।

गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि खड्का शनिबार सुर्खेत पुगेका हुन् । उप-प्रधान तथा रक्षा मन्त्री भएपछि खड्का पहिलो पटक गृह जिल्ला पुगेका हुन् ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो घुइँचाे थियो । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए ।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने ।

त्यहीँ ताकत, आशिर्वाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको उनले प्रस्ट पारे ।