• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आजदेखि सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा रोक लागेको छ। महानगरले यसअघि नै जारी गरेको सूचनाअनुसार बुधबारदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ ।

चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको भन्दै महानगरले रोक लगाएको हो।

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ।

“कसैले यो सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुनअनुसार अधिक्तम सजाय गरिनेछ,” महानगरले भनेको छ ।

महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ ले काठमाडौं महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयसहितका सार्वजनिक स्थलमा धूमपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थलाई निषेध गरेको छ।