• २०८३ साउन २८
  • 2026 August 13, Thursday

कोरियामा एक साताभित्रै ४ नेपालीको मृत्यु

दक्षिण कोरियामा एक सातामा ४ जना नेपालीको मृत्यु भएको छ। विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रञ्जन राई, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा र मोरङका रोहित मगरको मृत्यु भएको त्यहाँका नेपालीहरूका संस्थाहरूले जानकारी दिएका छन्।

गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत रञ्जन राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको हो।

छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा दुर्घटनामा परी स्याङ्बाको शुक्रबार मृत्यु भएको थियो। बिरामी परेका मगरको उपचारको क्रममा ज्यान गएको हो।

सोलुखुम्बु सेवा समाजका पूर्वउपाध्यक्षसमेत रहेका रञ्जनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको सोलुखुम्बु समाजका अध्यक्ष राजु राईले जानकारी दिए।

स्याङ्बा पहिलो पाँच वर्ष सकाएर दोस्रो कार्यकालको रुपमा कोरिया आएकी थिइन्। प्यारासुटहरुमा प्रयोग हुने धागो बनाउने कम्पनीमा कार्यरत थिइन्। उनको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।