• २०८३ कार्तिक २७
  • 2026 November 12, Thursday
ब्लग

कोरियाको चमकभित्र डिपेन्डेन्ट जीवनको मौन संघर्ष

डिपेन्डेन्ट जीवन कमजोर होइन, यो त धैर्य, आत्मबल र मौन संघर्षको एउटा गहन कथा हो । आज समय रोकिएको जस्तो लागे पनि, यो यात्राकै एउटा महत्त्वपूर्ण चरण हो । चमकभन्दा बाहिरको यो मौन जीवनले अझ बलियो बनाइरहेको छ । एकदिन, यही धैर्यले नयाँ उज्यालो बिहानी ल्याउनेछ ।

कोरिया भन्नासाथ धेरैको मनमा आउँछ– उच्च तलब, आधुनिक सहर, सफा सडक र चमकधमकले भरिएको जीवन । तर यही चमकभित्र एउटा मौन पीडा लुकेको छ, जसलाई डिपेन्डेन्ट भिसामा आएका मानिसहरूले मात्र गहिराइमा महसुस गर्छन् ।

विदेश बस्ने हरेक व्यक्तिको पछाडि धेरै कथा लुकेका हुन्छन् । सुखी जीवनको सपना, परिवारको भविष्य सुरक्षित बनाउने चाहना र त्यो सपना पूरा गर्न सहनुपर्ने अनगिन्ती संघर्ष । यहाँ आउने निर्णय अचानक हुँदैन । यो साहसी निर्णय भोलिको आशामा उठाइएको एउटा ठूलो कदम हो । जीवन केही सुधारियोस्, भविष्य सुरक्षित होस् भन्ने अपेक्षाले यहाँ आइन्छ ।

विदेश पुगेपछि सबै सजिलो हुन्छ भन्ने सोच धेरैको मनमा हुन्छ, तर वास्तविकता भने कागजमा लेखिएको भिसा जस्तै कडा नियम र सीमाभित्र बाँधिएको हुने रहेछ । यहाँ डिपेन्डेन्टको जीवन केवल बाँचिरहनु मात्र होइन, मनलाई सम्हालिरहनु पर्ने एउटा निरन्तर युद्ध हो । डिपेन्डेन्ट भिसाको सबैभन्दा कडा नियम काम गर्न मिल्दैन । काम गर्न चाहना छैन भनेर होइन, काम गर्न नपाइने भएर हो । नियम विपरीत काम गर्दा भोलि दुबैको जीवन अफ्ठ्यारोमा पर्ला कि भन्ने डरले मन मान्दैन । यसको असर कति गहिरो हुन्छ भन्ने कुरा बाहिरबाट हेर्नेहरूले बुझ्दैनन् ।

दिनभर समय हुन्छ, तर काम हुँदैन । काम हुँदैन, तर खर्च चाहिन्छ । मनभित्र प्रश्न उठिरहन्छ,‘देशमा हुँदा केही न केही गरिरहेकै थिएँ, यहाँ आएपछि किन आफैँलाई आफू बोझ भए जस्तो लाग्छ?’ कोठा सानो हुन्छ, तर त्यसको सन्नाटा असाध्यै ठूलो । मोबाइल हेरिरहँदा, टिकटक स्क्रोल गरिरहँदा दिन बितेजस्तो लाग्छ, तर रात पर्नासाथ उही प्रश्न दोहोरिन्छ, के मेरो जीवन यतिमै सीमित हो ?

बाहिरबाट हेर्दा विदेशको जीवन चम्किलो देखिन्छ। तर भित्र मनका आवाजहरू भारी र थकित हुन्छन् । विदेश जानु धेरैका लागि सपना हो । घरपरिवारका लागि केही गरिदिने चाहना, भविष्य सुरक्षित बनाउने आशा, जीवनलाई नयाँ मोड दिने लक्ष्य । यही सपनाले नेपालीहरूलाई कोरियासम्म ल्याउँछ।

कोरिया टाढाबाट हेर्दा सुरक्षित, अनुशासित र सम्भावनाले भरिएको देश हो । सडक सफा छन्, मानिसहरू व्यस्त छन्, कामका अवसर धेरै छन् । यहाँ पसिनाले कमाएको पैसाले भविष्य सुरक्षित गर्न सकिन्छ ।

यहाँको दैनिकी घडीको टिक–टिकसँगै दौडिन्छ । बिहान ५ बजेदेखि नै बस स्टप भरिन थाल्छ । हातमा कफी, काँधमा झोला, कानमा एयरपड । सबै एउटै लयमा दौडिरहेका हुन्छन् । फ्याक्ट्री, अफिस, सुपरमार्केट, कन्स्ट्रक्सन, रेस्टुरेन्ट कामको ठेगाना छैन । यहाँ मानिसहरू खानेभन्दा धेरै काम गर्छन् । काम रोकियो भने जीवन रोकिन्छ, जीवन रोकियो भने भविष्य अनिश्चित हुन्छ ।

सबैलाई काम गर्न मन छ, आफ्नै कमाइले जीवन चलाउन मन छ । इच्छा हुन्छ, तर अवसर हुँदैन । बाहिर झलमल्ल बत्तीले सजिएको कोरिया छ । तर मेरो संसार भने यही सानो कोठा हो, जहाँ बिहानको चिया, मोबाइलको नोटिफिकेसन र आफैसँगको संवाद मात्र हुन्छ । यही एक्लोपनले धेरै कुरा सिकाएको छ– आफूलाई हिम्मत दिन, आफूलाई साथ दिन, आफूलाई बुझ्न ।

कहिलेकाहीँ ढोकाबाट बाहिर हेर्दा हावाको सानो झोक्काले कानमा फुसफुसाएजस्तो लाग्छ, ‘धैर्य गर, राम्रो दिन आउनेछ ।’ बाहिर मानिसहरू हतारमा छन् । प्रत्येक १०–१० मिनेटमा आउने मेट्रो, भीड, दौड । कोही निद्रा नपुगेर मेट्रोमै निदाएका, कोही थोरै फुर्सद निकालेर प्रेममा रमाइरहेका ।

भान्सामा खाजा बनाउने, कोठा सफा गर्ने, कहिलेकाहीँ टिकटक स्क्रोल गर्ने, यिनैले दिन बित्छ । तर मनभित्र अधूरा चाहनाहरू सधैँ जागिरहन्छन् । यसरी नै दिनहरू बित्दै जान्छन् । एकातिर श्रीमान् काममा हराउँछन् । अर्कोतिर श्रीमती कोठाभित्र आफैसँग हराउँछिन् ।

सानो कोठा, सानो बेड, चिया र थाकेका मुस्कानभित्र दुबैको प्रेम बाँच्छ। श्रीमती अनावश्यक सोचले थाक्छिन्, श्रीमान् कामको तनावले। फोनको घन्टी, घडीको टिक–टिक र बाहिरी आवाजले कहिलेकाहीँ मन निकै कमजोर बनाइदिन्छ। यहाँ आउँदा धेरै कल्पना गरिन्छ— नयाँ देश, नयाँ वातावरण, नयाँ अवसर। तर यहाँ आएपछि थाहा हुन्छ, वास्तविकता सपनाभन्दा धेरै फरक रहेछ।

कहिलेकाहीँ अचम्म लाग्छ– सबै आफ्नै यात्रामा छन्, तर आफ्नो यात्रा किन किन रोकिएको जस्तो लाग्छ ? नेपालमा हुँदा लाग्थ्यो, भाषा आफैँ आउँछ। तर भाषा शब्द मात्र होइन, यहाँ बाँच्ने आधार रहेछ। दूध किन्नु, बस चढ्नु, कसैसँग बोल्नु, अस्पताल जानु सबै चुनौतीजस्तै लाग्छ।

डिपेन्डेन्ट भिषामा बस्ने धेरै महिला र पुरुष बाहिर निस्कन डराउँछन्— स्टप छुट्ला कि ? गलत लाइन पर्‍यो कि ? कसैले केही सोध्यो भने के जवाफ दिने ? यस्तै डरले कोठाभित्र सीमित बनाउँछ।

तर समाधान पनि यहीँ छ । एक्लै बाहिर निस्कन सिक्नु, एपहरू बुझ्नु, कोरियन भाषा कक्षा लिनु, भाषा नआए पनि बोल्ने प्रयास गर्नु । बिस्तारै थाहा हुन्छ भाषा सिक्न समय लाग्छ, तर मनले चाह्यो भने असम्भव हुँदैन । आज म कोरियन कक्षा लिन्छु। मोबाइल एपबाट नयाँ शब्द सिक्छु । टिभीमा सबटाइटल राखेर कोरियन कार्यक्रम हेर्छु । अहिले पनि सबै जान्दिनँ, तर चार महिना अघि डराउने म, आज बुझ्न र बोल्न नडराउने बनेकी छु ।