• २०८३ भदौ २०
  • 2026 September 05, Saturday

८२८ मेगावाटको जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाले पायो उत्पादन अनुमति

काठमाडौँ। लामो समयदेखि प्रक्रियागत अन्योलमा रहेको ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गर्ने भएको छ। विद्युत् विकास विभागले साउन २० गते नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावर कम्पनी लिमिटेडलाई आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र दिएपछि निर्माणका लागि आवश्यक अर्को चरणको प्रक्रिया अघि बढ्ने भएको हो।

२०६१ सालदेखि चर्चामा रहेको यो आयोजना लामो समयसम्म उत्तरगंगा नदीको पानी कुन जलाधारतर्फ लैजाने भन्ने विवादका कारण अगाडि बढ्न सकेको थिएन। भेरीतर्फ पानी स्थानान्तरण गर्ने कि निसीखोलातर्फ फर्काउने भन्ने विषयमा रहेको अन्योल अन्त्य गर्दै अहिले निसीखोलातर्फ पानी लगेर विद्युत् उत्पादन गर्ने संरचना औपचारिक रूपमा तय भएको छ।

विद्युत् विकास विभागका सूचना अधिकारी बद्री कुइँकेलका अनुसार ८२८ मेगावाट क्षमताको आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरिएको हो। सरकारले चालु आर्थिक वर्षभित्रै आयोजनाको निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अनुमतिपत्र जारी भएपछि वित्तीय व्यवस्थापन तथा ठेक्का प्रक्रियाका लागि आवश्यक आधार तयार भएकाले आयोजना निर्माणतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार बागलुङको ढोरपाटन नगरपालिकास्थित ढोरपाटन उपत्यकामा उत्तरगंगा नदीको पानी थुनेर जलाशय निर्माण गरिनेछ। अग्लो बाँधमार्फत जम्मा गरिएको पानी ६।५१ किलोमिटर लामो मुख्य सुरुङबाट निसीखोलातर्फ स्थानान्तरण गरी विद्युत् उत्पादन गर्ने योजना छ। आयोजना क्षेत्रअन्तर्गत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई अनुमतिपत्र जारी भएको जानकारी विभागले गराइसकेको छ।

उत्तरगंगा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन भने यसअघि नै स्वीकृत भइसकेको छ। २०८० माघ २ गते स्वीकृत ईआईएले पनि उत्तरगंगा नदीको पानी निसीखोलातर्फ फर्काएर विद्युत् उत्पादन गर्ने संरचनालाई नै आधार मानेको थियो। यससँगै आयोजनाको वातावरणीय तथा संरचनागत तयारीका महत्वपूर्ण चरणहरू पूरा भइसकेका छन्।

जलाशययुक्त तथा अन्तरजलाधार स्थानान्तरण आयोजना भएकाले उत्तरगंगालाई नेपालको विद्युत् प्रणालीका लागि रणनीतिक परियोजनाका रूपमा हेरिएको छ। नेपालमा बर्खायाममा नदीको बहाव बढ्दा विद्युत् उत्पादन उच्च हुने तर हिउँदमा पानीको स्रोत घट्दा उत्पादनमा कमी आउने समस्या छ। यस्तो अवस्थामा जलाशयमा पानी सञ्चित गरेर आवश्यक समयमा विद्युत् उत्पादन गर्न सकिने भएकाले उत्तरगंगाले मौसमी उत्पादनको असन्तुलन घटाउन योगदान पुर्‍याउने अपेक्षा छ।