• २०८३ असोज १५
  • 2026 October 01, Thursday

अयोध्यामा निर्माणाधीन राममन्दिरको प्राणप्रतिष्ठा नेपाली पुजारीले गराउने

काठमाडाैं । भगवान् राम जन्मभूमि भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरको प्राणप्रतिष्ठा नेपाली पुजारीले गराउने भएका छन्।

मन्दिरमा हुने भगवान् रामको मूर्ति प्राणप्रतिष्ठा समारोह वैदिक रीतिरिवाजअनुसार विशेष पूजासहित आगामी माघ २ देखि ८ गतेसम्म (जनवरी १६ देखि २२ तारिखसम्म) हुँदै छ।

प्राणप्रतिष्ठाका लागि गरिने विशेष पूजाका निम्ति नेपालबाट एक जना विशेष पुजारीलाई आमन्त्रित गरिएको छ। राम जन्मभूमि मन्दिरको शिलान्यासका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारणसहित शिलान्यास गराउने नेपाली मूलका पुजारी आचार्य दुर्गाप्रसाद गौतमलाई पुनः विशेष पूजाका लागि निम्तो आएको हो।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले पुजारी गौतमलाई १६ जनवरी देखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गइरहेको प्राणप्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणापत्र पठाएका छन्।

झापा जिल्ला मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राणप्रतिष्ठाको पूजा गराउन निम्तो आउनु गौरवको विषय भएको बताएका छन्। उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राण् प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।

अयोध्याको यस प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ। विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०-३५ जना साधुसन्तहरूलाई अयोध्याबाट प्राणप्रतिष्ठा समारोहमा निम्तो आएको जानकारी दिए।