• २०८३ असोज १४
  • 2026 September 30, Wednesday

पार्टी ठूलाे बनाउन खाेज्दा गल्ती भयाे, अब पाठ सिकेर अघि बढ्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता दोहोर्याएका छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिवद्धता दोहोर्याएका हुन् ।.

नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टी भन्दा फरक बिचार र पहिचान बोकेर हिडेको पार्टी भएको भन्दै उनले लक्ष्य अनुसार अघि बढ्न अव कसैले रोक्न नसक्ने तर्क गरे । थापाले सनातन धर्म संस्कृति र परम्पराकोे रक्षा गर्दै सुशासनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।

त्यस्तै उनले अहिले देशका हरेक क्षेत्रमा महिलाको उपस्थीतिलाई बढाउन र महिलाको हकहित र अधिकारको रक्षा गर्न प्रतिवद्ध भएर लाग्ने धारणा पनि राखे ।