• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

गृहले सच्यायाे परिपत्र, आमाकै थरबाट बच्चाको जन्म दर्ता गर्न निर्देशन

काठमाडाैं । गृह मन्त्रालयले यसअघि गरेको परिपत्र सच्याउँदै आमाकै थरबाट बच्चाको जन्म दर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार देशभरका सबै वडा कार्यालयलाई सच्याएर परिपत्र पठाएको छ ।

नयाँ परिपत्रमा यसअघिको परिपत्रका विषयमा थप स्पष्ट पारिएको उल्लेख छ ।

नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिने’ यसअघि मावलीको थर राख्ने भनिएको थियो ।

अर्काे बुँदामा भनिएको छ, ‘विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगनाामा जन्म दर्ता गरिदिने। यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिने ।’

यसअघि आमालाई सूचक राखी मावलीको थरबाट जन्म दर्ता गर्न निर्देशन दिएको थियो । त्यसको व्यापक विरोध भएपछि सच्याएको हो ।