• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सृष्टि श्रेष्ठकाे अभिनय रहेकाे फिल्म ‘राधा’ पुनः प्रदर्शन हुने

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ ।

गतवर्ष भदौ १० गतेदेखि प्रदर्शन भएको फिल्म शो बाँडफाडमा भेदभाव गरेको भन्दै निर्माताले फिल्मलाई हलबाट उतारेका थिए । अब, यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ।

फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्देशक थापाले नयाँ प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

‘आदरणीय दर्शक महानुभावहरू अष्ट्रेलिया, नर्थ अमेरिका र यूरोपको सफल प्रदर्शन एवम् विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागितापछि हामीले ‘द सेक्रेट्स अफ राधा’ लाई तपाईहरूको सामु ल्याउने जमर्को गरेका छौं । आशा छ यो अवसरमा तपाईहरूले हाम्रो साथ दिनुहुनेछ,’ उनले फेसबुकमा लेखेका छन् ।

निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रूपमा डेब्यू गरेका हुन् ।

फिल्ममा बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी श्रीमतीको कथालाई देखाइएको छ ।