• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अवैध सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चारजना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश प्रकाश विभूति र गणेश बाल्टे रहेको डिएसपी सुरक्षा केसीले जनाएकी छिन् ।

यस्तै, नेपाली नागरिक भने दिनेश खरेल, आयुष बडु, भरतराज खरेल र गणेश दत्त बडु रहेका छन् ।

काठमाडौं वडा नं २४ मा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेको गोप्य सूचना दिएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा दार्चुला महाकाली नगरपालिका वडा नं ३, ४७ गणेश दत्त बडुसहित सात जना व्यक्तिलाई सुन जस्तो देखिने पहेलो धातुको टुक्राहरु ९ थान, तौल १ हजार ७ सय ६८.२५ ग्राम र नगद रु १ करोड ४३ लाख ६० हजारसहित फेला पारि पक्राउ गरिएको पनि डिएसपी केसीले जानकारी दिएकी छिन् ।