• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

काठमाडौंमा बुधबारदेखि पाँचौं राष्ट्रिय मह मेला

काठमाडौं । काठमाडौंमा बुधबारदेखि पाँचौं राष्ट्रिय मह मेला हुने भएको छ । मेलाले मह उत्पादक किसानलाई बजार प्रवर्धनमा सघाउँदै आएको छ ।नेपाल मौरीपालक महासंघ, नेपाली मौरीपालन सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास केन्द्रले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपभोक्तालाई मौरीजन्य उपजहरुको जानकारी गराउन मह मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचय गराउने, परागसेची जीवहरुको महत्व बुझाउने, मह प्रदर्शनी, मौरीपालनका नवीनतम प्रविधिहरुको प्रदर्शन र व्यवसायको अवस्था, अवसर, चुनौतीबारे जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको नेपाल मौरीपालन सहकारी संघकी केन्द्रीय अध्यक्ष जानुकादेवी थापाले बताइन ।

उनका अनुसार नेपालमा व्यवसायिक मह उत्पादन खपत र निकासीको प्रशस्त सम्भावना छ । तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा मह उत्पादक कृषकहरु अलमलिएको उनले बताइन् ।उनले भनिन्, ‘नेपालमा व्यवसायिक मह उत्पादन, खपत र निकासीको पर्याप्त सम्भावना छ । सरकारले सहुलियत र सुविधाको व्यवस्था पनि गरेको छ ।

तर सरकारले यसबारे कृषकहरुलाई जानकारी दिन नसक्दा यो क्षेत्र नै अलमलिएको छ । सुविधाको बारेमा किसानहरु बञ्चित हुन बाध्य छन् । यो मेलाले मह उत्पादक कृषकहरुलाई केही हदसम्म फाइदा पुग्ने अपेक्षा गरिएको छ ।’त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका अध्यक्ष उमेशप्रसाद सिंहले मौरीपालकहरुको छाता संस्थाको रुपमा रहेर मौरीपालक किसानको माग सम्बोधन नहुनु बिडम्बना रहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई राजधानीदेखि विदेश निर्यातमा यस मेलाले महत्वपूर्ण योगदान गर्ने बताए ।

उनले भने, ‘मौरीपालक किसानले उत्पादन गरेको महको खपत र बजारका लागि भौतारिइरहनुपर्ने बिडम्बना छ । हामी मौरीपालकहरुको छाता संस्थाको रुपमा रहेर किसानका मागहरु सम्बोधन गर्न नसक्नु बिडम्बना जस्तै हुन्छ । त्यसैले यस मेलामा कृषिमन्त्रीदेखि सरोकारवालाहरुलाई बोलाएर सचेत गराउनेछौं ।’

न्यून भन्सारमा विदेशी कम गुणस्तरको मह नेपाल भित्रिने प्रवृति रोक्न उक्त मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।