• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं । झापा कनकाई नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ३० ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत बिहार डिगल बैंक थाना–५ घर भएका २८ वर्षीय अन्जार आलम र उनकै भाई १९ वर्षीय युसुब आलम रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले कुमरखोदबाट सुरूङगातर्फ आउँदै गरेको बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अन्जार घाइते भएका छन् । घाइते भएका अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यस्तै, बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ पिस सहित कैलाली लम्कीचुहा नगरपालिका–६ बस्ने २३ वर्षीय रोसन रावललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।