• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बढ्न थाल्यो गर्मी, तातो हावा चल्न सक्ने

काठमाडौं। देशभर तापक्रम क्रमशः बढ्न थालेको छ, र आगामी दिनमा अझै बढी गर्मी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद्का अनुसार तत्काल वर्षाको सम्भावना नरहेकाले तातो हावा (लू) चल्न सक्ने चेतावनी दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा कुनै नयाँ मौसमी प्रणाली सक्रिय छैन। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएकाले तापक्रममा अझै वृद्धि हुने अनुमान गरिएको छ।आज (बुधबार) भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ भने जुम्लामा रातको समयमा तापक्रम ६ डिग्रीसम्म झर्न सक्ने सम्भावना छ।

मंगलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही मौसम केन्द्रहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रेकर्ड गरिएको थियो। मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागहरूमा तापक्रम ३८ डिग्री सेल्सियस आसपास थियो।गत २४ घण्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मात्रै हल्कादेखि मध्यम वर्षा भएको रेकर्ड छ, तर तापक्रम उच्च हुने तराई-मधेश क्षेत्रमा भने वर्षा देखिएको छैन। आगामी केही दिन पनि वर्षा हुने सम्भावना नरहेकाले तापक्रम अझै उकालो लाग्ने मौसमविद्को भनाइ छ।

सतर्कता: मौसमविद्हरूले अत्यधिक गर्मी र सम्भावित लूको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।