• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रेशम चौधरीको गिरफ्तारीमा पूर्वाग्रह छैन, अनधिकृत पत्रका कारण गल्ती भएको गृहमन्त्री लेखकको स्पष्टीकरण

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउप्रति सरकार पूर्वाग्रही नभएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले चौधरीलाई सर्वोच्च अदालतको आदेश अनुसार पक्राउ गरिएको तर छानबिनपछि वास्तविकता बुझिएपछि रिहा गरिएको जानकारी दिएका छन्।

उनका अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृतरूपमा तयार पारेको पत्रका कारण चौधरी पक्राउमा परे पनि त्यस्ता गल्ती दोहोरिन नदिन सबै निकायलाई सचेत गराइएको छ।

गृहमन्त्री लेखकले चौधरीलाई भएको मानसिक पीडाप्रति आफू दुःखी रहेको जनाउँदै, अनधिकृत पत्र बनाउने कर्मचारीलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए। साथै, चौधरीको पक्राउ सर्वोच्चको आदेश पालना गर्न गरिएको भए पनि सत्यतथ्य खुलेपछि उनलाई तुरुन्तै छाडिएको बताएका छन् ।