• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

मध्यपहाडी लोकमार्गको अवधारणा पहाडी क्षेत्रको बसाइसराइ घटाउनु हो-प्रचण्ड

दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरोकारवालासँग विकास र समृद्धिबारे गहिरो छलफल गरेका छन्। माओवादी नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिमसमेत सहभागी कार्यक्रमले जिल्लाका पूर्वाधार, पर्यटन र उद्योग प्रवर्द्धनका सम्भावनाहरू उजागर गरेको छ ।

स्थानीय उद्योग वाणिज्य संघले प्रमुख मागपत्र बुझाउँदै अभियानप्रति कृतज्ञता प्रकट गरेको छ । दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताएका छन् ।

उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट पारे। यो अभियान अब माओवादीको मात्र नभई सबै दलहरूको साझा अभियान बनेको उल्लेख गरे।

“मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,” अध्यक्ष प्रचण्डले भने, “तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो।”

उनले दैलेखको पेट्रोलियम खानी अनुसन्धानबारे चिनियाँ पक्षसँग थप संवाद गर्ने बताए। वैदेशिक रोजगारी र बसाइसराइ बढ्दो क्रममा रहनु चिन्ताको विषय भएको भन्दै, व्यवस्थित सहर निर्माण र रोजगारी सिर्जना अपरिहार्य रहेको धारणा व्यक्त गरे।