• २०८३ साउन २९
  • 2026 August 14, Friday

बलात्कारमा सफाइ पाएका रामबहादुर बमजन सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा

विवादित तपस्वी रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश सर्लाही जिल्ला अदालतले दिएको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनछेक बहसपछि बमजनलाई थुनामा राख्ने निर्णय सुनाएको हो।

८ करोड ५९ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा आफैं अदालतमा उपस्थित भएका बमजनमाथि अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो। चितवनस्थित ६४ लाख मूल्य बराबरको जग्गा र बरामद नगदसमेत मुद्दासँग सम्बन्धित छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले २०८० पुस २४ गते काठमाडौंबाट बमजनलाई पक्राउ गर्दा विभिन्न १७ देशका ३० लाखभन्दा बढी विदेशी मुद्रा र ३ करोड ३४ लाख नेपाली रुपैयाँ बरामद गरेको थियो।

यसअघि, बलात्कार मुद्दामा सर्लाही जिल्ला अदालतले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो। तर, उच्च अदालत जनकपुरले उक्त फैसला उल्टाउँदै उनलाई सफाइ दिएको थियो। त्यसपछि रिहा भएका बमजन फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा परेका हुन्।