• २०८३ साउन २८
  • 2026 August 13, Thursday

राजसंस्थाबारे कांग्रेस स्पष्ट– बिगतमा धोका पाईसक्यौँ, अब समर्थन सम्भव छैन

सत्तारूढ नेपाली कांग्रेसले पार्टीले राजसंस्था समर्थन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बिगतमा राजाबाट पटक–पटक धोका पाएकाले कांग्रेस अब राजतन्त्रको पक्षमा उभिने कारण नरहेको बताएका छन्।

उनले भने, “अतीतमा हामीले संवैधानिक राजालाई स्वीकार गरेका थियौं, तर बारम्बार धोका भएको इतिहास छ। त्यसैले कांग्रेसले फेरि त्यो बाटो रोज्दैन। भविष्यमा फेरि धोका नहुने भन्ने कुनै ग्यारेन्टी छैन।”

डा. महतले राजावादीहरूलाई प्रदर्शन गर्न रोकिएको नरहेको जनाउँदै संविधानको सीमा नाघेर राजतन्त्र फर्काउने प्रयास अनुचित भएको निष्कर्ष बैठकले निकालेको बताए। साथै, धर्म र संस्कृतिको संरक्षण भने संविधानमै सुनिश्चित भएकाले त्योबारे भविष्यमा थप छलफल हुन सक्ने पनि उनले उल्लेख गरे।