• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

सरकारी स्कुलहरूलाई निजी स्कुल बराबरी बनाउन लगानी आवश्यक: न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयहरूलाई निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

शुक्रबार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ हीरक जयन्तीको अवसरमा आयोजित समारोहमा बोल्दै न्यायाधीश मल्लले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षामा लगानी बढाउनुपर्ने धारणा राखिन्।

विद्यालय शिक्षालाई केवल ज्ञान प्राप्तिको माध्यम नभई चेतना फैलाउने र सोच सिर्जना गर्ने थलोको रूपमा वर्णन गर्दै उनले शिक्षा प्रणालीले व्यक्तिको बुद्धिमत्ता र सामाजिक जिम्मेवारी दुवै विकास गर्नुपर्नेमा जोड दिइन्।

न्यायाधीश मल्लले सफलताको आधार पद, ओहोदा वा आर्थिक शक्ति मात्र नभई, जिम्मेवारीप्रतिको गहिरो अनुभूति र निष्ठा पनि भएको उल्लेख गरिन्। उनले यस्ता मूल्यहरूले व्यक्ति र समाज दुवैलाई अगाडि बढाउने बताइन्।