• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रुपन्देही-३ मा संघीय लोकतान्त्रिक मोर्चाले नाउपालाई सघाउने

मधेश केन्द्रित सात दलहरूको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंसहित देशभरका ६ स्थानमा सभा गर्ने निर्णय गरेको छ। लाजिम्पाटस्थित एक होटेलमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए।

उनका अनुसार, मोर्चाले साउन १७ गते काठमाडौं, २१ गते भैरहवा, २३ गते कैलाली, भदौ १६ गते विराटनगर, १८ गते जनकपुर र २० गते वीरगन्जमा सभा आयोजना गर्ने छ।

बैठकले मोर्चाको कार्यविधिलाई पनि स्वीकृति दिएको छ। साथै, रुपन्देही–३ मा हुने उपनिर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सबै दल एकमत रहेको उनले स्पष्ट पारे। यद्यपि कुन दलबाट उम्मेदवार दिने भन्नेबारेमा भने छलफल जारी रहेको र चाँडै निष्कर्षमा पुगिने उनले बताए।

उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, र जनमत पार्टी सबैले उम्मेदवारीको दाबी गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई समर्थन गर्ने विषयमा सहमति बन्ने सम्भावना देखिएको छ।

यसअघि नाउपाका संरक्षक रेशम चौधरीले आफ्नो दलले अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएको भन्दै उम्मेदवारीको दाबी प्रस्तुत गरेका थिए। अघिल्लो चुनावमा समानुपातिकतर्फ नाउपाले ६,०१०, जसपाले ५,२९१, लोसपाले ५,०५३ र जनमतले ३,७३२ मत प्राप्त गरेका थिए।