• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको छ, अब उत्तर दिनु जरुरी छ -जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन हाल चौबाटोमा अलमलिएको जस्तो देखिएको बताएका छन्। उनले अब आन्दोलनका नेतृत्वकर्ताहरूले जनताको विश्वास र आन्दोलनको भविष्यका सम्बन्धमा गम्भीर आत्ममूल्यांकन गर्दै स्पष्ट उत्तर दिनुपर्ने समय आएको बताएका छन्।

काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्ती कार्यक्रममा बोल्दै शर्माले भने, पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि अहिलेको अवस्था चौबाटोमा अलमलिएको बटुवा जस्तो भएको छ।’

उनले कम्युनिस्ट आन्दोलनप्रति उत्पीडित वर्ग, सहिदहरू र घाइतेहरूबाट गरिएको त्याग र बलिदान सम्झिँदै आफैलाई प्रश्न गरिरहेको उल्लेख गरे। ‘आन्दोलनको एउटा सदस्यको हैसियतले आफैलाई कठघरामा उभिएको जस्तो महसुस भइरहेको छ’, शर्माले भने।

उनले आन्दोलनबाट मुक्ति कसरी पाउने भन्ने प्रश्न अहिलेको सबैभन्दा महत्वपूर्ण चुनौती भएको उल्लेख गर्दै थपे, ‘हामी कुन दिशा अँगाल्ने भन्ने सवालमा अलमलिएको अवस्था छ, र त्यसको जवाफ अब दिनु अपरिहार्य छ।’

जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जान थालेको खतराप्रति पनि उनले चेतावनी दिए। उनका अनुसार इतिहासले अब नेतृत्वकर्ताहरूलाई जवाफ मागिरहेको छ। ‘उत्तर दिँदा कतिपयलाई मन नपर्ला, तर इतिहासप्रति बेइमानी गर्न मिल्दैन’, उनले स्पष्ट रूपमा भने।

शर्माले यो विषय कुनै व्यक्ति विशेषको नभई वर्ग र आन्दोलनप्रतिको विश्वासको विषय भएको बताए। उनले पुष्पलालले सर्वहारा वर्गको अग्रदस्ता निर्माणमा खेलेको भूमिकाको पनि प्रशंसा गर्दै भने, ‘उहाँले युवा अवस्थामा कफन बाँधेर हजारौँ योद्धाका बीच लडाइँ लड्नुभएको थियो।’

उनको वक्तव्यले अहिलेको कम्युनिस्ट आन्दोलनभित्रको वैचारिक द्वन्द्व र दिशाहीनताको गहिरो बहसको संकेत दिएको छ। अब नेतृत्वले यी प्रश्नहरूको स्पष्ट उत्तर नदिए आन्दोलन अझै गहिरो संकटमा फस्ने खतरा देखिएको छ।