• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अर्थतन्त्रमा सार्वजनिक संस्थानको योगदान निरन्तर खुम्चँदो

काठमाडौँ । नेपालको राष्ट्रिय अर्थतन्त्रका विभिन्न आयामहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सार्वजनिक संस्थानहरूको योगदान पछिल्लो समय केही घट्दो क्रममा देखिएको छ। अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार  कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सार्वजनिक संस्थानहरूको सञ्चालन आयको अनुपात अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ७२ अर्ब ४० करोड २७ लाख रुपैयाँ पुगेको छ। यो रकम सोही अवधिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १०.८५ प्रतिशत हुन आउँछ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा यो अनुपात ११.७० प्रतिशत रहेको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष सार्वजनिक संस्थानहरूको योगदान ०.८५ प्रतिशत विन्दुले घटेको देखिन्छ। विगत ६ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वर्ष २०७९–८० मा यस्तो योगदान सबैभन्दा बढी १२.२९ प्रतिशतसम्म पुगेको थियो।