• २०८३ कार्तिक १८
  • 2026 November 04, Wednesday

संस्थापक दिवसमा दिवाकर गोल्छा समूहको सामाजिक अभियान

काठमाडौँ । दिवाकर गोल्छा अर्गनाइजेशनले आफ्ना संस्थापक स्व. दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीको अवसरमा विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी ‘संस्थापक दिवस’ मनाएको छ । श्रावण १३ गतेका दिन उद्योगका कारखानास्थल, काठमाडौँस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका हुन् ।

स्व. गोल्छाको दूरदर्शिता र देश निर्माणप्रतिको निष्ठालाई स्मरण गर्दै अर्गनाइजेशनले यस वर्ष स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा योगदान पुर्‍याएको छ ।

संस्थापक दिवसका अवसरमा अर्गनाइजेशनले पाँच मुख्य विधामा सेवामूलक कार्यक्रमहरू सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ:

१. स्वास्थ्य सेवा: स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको छ ।

२. अस्पताललाई सहयोग: स्वास्थ्य सेवालाई सुदृढ बनाउने उद्देश्यले कीर्तिपुर अस्पताललाई डायलासिस उपकरण (मेसिन) हस्तान्तरण गरिएको छ ।

३. कर्मचारी सम्मान: उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

४. वातावरण संरक्षण: ‘हरित नेपाल’ को सन्देश दिँदै विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

५. सामुदायिक सेवा: स्थानीय विद्यालय तथा वृद्धाश्रमहरूमा भोजन वितरण गरी सामाजिक उत्तरदायित्व पूरा गरिएको छ ।

नेपालको औद्योगिकीकरणमा स्व. दिवाकर गोल्छाको अतुलनीय योगदान रहेको छ । उनको चाहना अनुरूप नै हाल यस अर्गनाइजेशनले कर्कट जस्तापाता, पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टीलका भाँडाकुँडा र इलेक्ट्रोनिक्स लगायतका विभिन्न वस्तुहरू उत्पादन गर्दै आएको छ ।

अर्गनाइजेशनले हाल देशभरि करिब २० हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको छ । नेपालको पहिलो स्टील उद्योगका रूपमा स्थापित ‘हुलास स्टील इण्डष्ट्रिज लिमिटेड’ ले आफ्नो ४५ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारीमा उल्लेख्य योगदान पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

दिवाकर गोल्छा फाउण्डेशनमार्फत विभिन्न संघ–संस्थाहरूलाई आर्थिक सहयोग तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको अर्गनाइजेशनले जनाएको छ । स्व. गोल्छालाई औद्योगिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि ‘प्रवल गोरखा दक्षिणबाहु’ बाट समेत सम्मानित गरिएको थियो ।