काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक विभिन्न प्रकृतिका कमजोरीका कारण कारबाहीमा परेका हुन्।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक चेतावनी दिइएको छ भने प्रभु बैंकमाथि नियामकीय कारबाही गरिएको छ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ बमोजिम सम्बन्धित निकायबाट अनुरोध प्राप्त भएपछि पनि समयमै खाता रोक्का नगरी नियामकीय व्यवस्था उल्लंघन गरेको पाइयो। सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) अनुसार बैंकलाई पहिलो पटक सचेत गराइएको हो।
कृषि विकास बैंकले पनि बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्था पालना नगरेको र सम्बन्धित निकायको अनुरोधअनुसार समयमै आवश्यक प्रक्रिया पूरा नगरेको भेटिएपछि राष्ट्र बैंकले चेतावनी दिएको छ। केन्द्रीय बैंकले आगामी दिनमा यस्ता अनुरोध प्राप्त हुनासाथ तत्काल खाता रोक्का तथा फुकुवाको प्रक्रिया कार्यान्वयन गर्न स्पष्ट निर्देशनसमेत दिएको छ।
प्रभु बैंकमाथि भने कडा कारबाही गरिएको छ। राष्ट्र बैंकका अनुसार २०८१ सालको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा औँल्याइएका गम्भीर कमजोरीहरू सुधार गर्न पटक पटक निर्देशन दिइए पनि २०८२ मा गरिएको जोखिममा आधारित पुनः निरीक्षणका क्रममा अपेक्षित सुधार नभएको पाइएको थियो। त्यसपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ख) बमोजिम बैंकको सञ्चालक समितिसँग सुधारात्मक योजना कार्यान्वयन गर्ने कबुलियतनामा गराइएको हो।
निरीक्षणका क्रममा प्रभु बैंकले कर्जा सम्बन्धी निर्देशन पटक पटक उल्लंघन गरेको, कर्जाको वर्गीकरण नियमानुसार नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, अघिल्ला निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका अधिकांश कैफियत सुधार नगरेको तथा राष्ट्र बैंकमा बुझाइएको कर्जा विवरण र कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच असमानता रहेको भेटिएको राष्ट्र बैंकले जनाएको छ।
यिनै कमजोरीका आधारमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।