• २०८३ मंसिर ७
  • 2026 November 23, Monday

विदेशी सम्बन्धनप्राप्त कलेजको समग्र मूल्याङ्कन गर्न शिक्षा सचिवको नेतृत्वमा समिति

काठमाडौँ। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चाल भइरहेका कलेजहरुको अनुगमन, मूल्याङ्कन तथा सिफारिसका लागि शिक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति गठन हुने भएको छ । मन्त्रिपरिषद्ले जारी गरेको विदेशी शैक्षिक कार्क्रयम (सञ्चालन र नियमन) नियमावली, २०८३ ले विदेशी सम्बन्धमा कलेज अनुमति प्राप्तिका लागि शिक्षा मन्त्रालयमा दर्ता भएको निवेदन उपर आवश्यक अध्ययन गरी निर्णयसहितको सिफरिस गर्न सचिव नेतृत्वको समितिको व्यवस्था गरेको हो ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ ले त्यस्तो समिति मन्त्री वा राज्यमन्त्रीको नेतृत्वमा रहने व्यवस्था गरेको थियो । तर पहिलो पटक जारी भएको नियमावलीले भने मन्त्रीको साटो सचिवलाई सो जिम्मेवारी सुम्पेको हो ।

नियमावलीले त्यस्तो समिति ९ सदस्य रहने व्यवस्था गरेको छ । समितिको सदस्यहरुमा विश्वविद्यालय अनुदान आयोगका सचिव, विभिन्न विश्वविद्यायका शिक्षाध्यक्ष वा डीनमध्ये मन्त्रालयबाट मनोनित दुई जना, शिक्षण संथा सञ्चालकमध्ये मन्त्रालयबाट मनोनित एक जना, कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालयकै विद्यालय शिक्षा महाशाखाका सहसचिव तथा शिक्षा मन्त्रालयकै उच्च शिक्षा महाशाखाका सहसचिव सदस्य सचिवका रुपमा रहने उल्लेख छ ।

निर्देशिकाले भने समितिको सदस्यहरुमा ११ जना रहने व्यवस्था गरेको थियो । समितिको सदस्यहरुमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, शिक्षा मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, सीटीईभीटीका सदस्य सचिव, विभिन्न विश्वविद्यालयका शिक्षाध्यक्ष वा रजिष्ट्रारहरुमध्ये मन्त्रालयबाट मनोनित दुई जना, विदेशी सम्बन्धनमा शिक्षण संस्था सञ्चालकहरुमध्येबाट मन्त्रालयले मनोनयन गरेको एक जना तथा शिक्षा मन्त्रालयको सम्बन्धित विषय हेर्ने महाशाखाका सहसचिव सदस्य सचिवका रुपमा रहने व्यवस्था गरेको थियो ।

नियमावलीले राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, सीटीईभीटीका सदस्य सचिव र शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट २ जना सदस्य रहने निर्देशिकाको व्यवस्था हटाएको छ भने कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालयकै विद्यालय शिक्षा महाशाखाका सहसचिवलाई सदस्यका रुपमा थप गरेको छ ।

यसै समितिले नै विदेशी विश्वविद्यालयको सम्बन्धन कलेजहरुको अनुमति र खारेजसम्बन्धी सिफारिस गर्नेछ ।

यस्तै, कलेजहरुको सुपरीवेक्षण, मूल्याङ्कन र अनुगमन गर्ने गराउने, भौतिक पूर्वाधार, शिक्षक तथा कर्मचारीको न्यूनतम सेवा सर्त र सुविधा तथा अन्य आवश्यक विषयमा नीति निर्धारण गर्ने, कलेजको नवीकरण, कार्यक्रम थप, सञ्चालन स्थान र सम्बन्धन परिवर्तनका लागि सिफारिस गर्ने जिम्मेवारी समितिसँग रहने छ ।

यसबाहेक, समितिले कलेजहरुले उपलब्ध गराउने छात्रवृत्तिको सिट निर्धारण गर्ने, छात्रवृत्तिमा विद्यार्थी पठाउने सम्बन्धी मापदण्ड निर्धारण गर्ने, विज्ञ सम्मिलत स्वतन्त्र टोलीबाट पाठ्यक्रम, परीक्षा प्रणाली र एकेडेमिक अडिट गर्ने र विदेशी विद्यार्थी भर्ना लिन चाहने कलेजलाई अनुमति प्रदान गर्ने सम्बन्धमा सिफरिस गर्ने काम गर्ने छ ।

समितिलाई कलेजहरुको शैक्षिकस्तर मूल्याङ्कन गर्न र अन्य कार्यक्रमको वर्षको कम्तीमा एक पटक निरीक्षण तथा अनुगमन गर्न आवश्यकता अनुसार उपसमिति वा विज्ञ टोली गठन गर्ने अधिकार प्रदान गरिएको छ ।