• २०८३ मंसिर ७
  • 2026 November 23, Monday

नामी कलेजमा ‘ब्याचलर इन इन्भाइरमेन्टल स्टडिज’ सुरु, विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य

काठमाडौँ। नेपालसँगै विश्वले अहिले अभूतपूर्व वातावरणीय संकटको सामना गरिरहेको छ। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, अनियमित वर्षा, बाढी पहिरो, खडेरी, जैविक विविधताको तीव्र ह्रास, वायु तथा जल प्रदूषण, प्राकृतिक स्रोतहरुको अत्याधिक दोहन र तीव्र शहरीकरणका कारण मानव जीवन मात्र होइन, समग्र पृथ्वीको भविष्य चूनौतीपूर्ण बन्दै गएको छ। यी चूतौतिहरूसँग वातावरण, समाज, अर्थतन्त्र र दिगो विकासबीचको सम्बन्ध बुझ्ने दक्ष नेपाली जनशक्ति उत्पादन गर्नु अहिलेको सबैभन्दा ठुलो आवश्यकता बनिसकेको छ।

यही आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौँ विश्वविद्यालयसँग आबद्ध नामी कलेजले ‘ब्याचलर इन इन्भाइरमेन्टल स्टडिज’ (बीईएस) कार्यक्रम सुरु गरेको छ। जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक स्रोत व्यवस्थापन तथा दिगो विकासलाई केन्द्रमा राखिएको यस ब्याचलर इन इन्भाइरमेन्टल स्टडिज कोर्सले समयको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

ब्याचलर इन इन्भाइरमेन्टल स्टडिज कार्यक्रममा वातावरणीय विज्ञान, दिगो विकास, सार्वजनिक नीति, सामाजिक अध्ययन तथा व्यवहारिक सिकाइलाई एउटै पाठ्यक्रममा समेटेर विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्य लिइएको छ।

यो काठमाडौँ विश्वविद्यालयको आठ सेमेस्टरसहितको चार वर्षे स्नातक कार्यक्रम हो। यसमा वातावरणीय पक्षसँगै सामाजिक, सांस्कृतिक र आर्थिक आयामलाई समान महत्त्व दिइएको छ। यस पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ। यसले विद्यार्थीलाई नेपालभित्र मात्र नभई विश्व बजारमा समेत प्रतिस्पर्धी बन्ने आधार तयार गर्नेछ।

कार्यक्रमको पहिलो वर्षमा वातावरण अध्ययनको परिचय, नेपाल तथा विश्वका पारिस्थितिक प्रणाली, विकास र वातावरण, अर्थशास्त्र, नेपाली तथा अंग्रेजी सञ्चार सीप, वातावरणीय रसायन, जैविक विविधता, संस्कृति र वातावरण, तथ्याङ्क, इन-हाउस परियोजना तथा फिल्ड ट्रिप समावेश गरिएको छ। यसले विद्यार्थीलाई वातावरण अध्ययनको आधारभूत अवधारणा बुझाउने लक्ष्य राख्छ।

दोस्रो वर्षमा विद्यार्थीलाई जलवायु प्रणाली, दिगो विकास, वातावरणीय भौतिकशास्त्र, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरणीय तथ्याङ्क, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, वातावरणीय भूगर्भशास्त्र, वातावरणीय प्रदूषण, वातावरण तथा व्यावसायिक स्वास्थ्य, ऊर्जा तथा वातावरण, संस्थासँग काम गर्ने अभ्यास र फिल्ड ट्रिपमार्फत विषयगत गहिराइ प्रदान गरिनेछ।

तेस्रो वर्षमा विपद् व्यवस्थापन, बसाइँसराइ तथा समुदाय विकास, आदिवासी ज्ञान र वातावरण, अनुसन्धान विधि, संरक्षण तथा संरक्षित क्षेत्र, प्रदूषण नियन्त्रण तथा व्यवस्थापन, वातावरणीय समाजशास्त्र, वातावरणीय कला, डिजाइन तथा इन्जिनियरिङ, भूमि तथा खाद्य सुरक्षा, समाज तथा द्वन्द्व समाधान, वातावरणीय महासन्धि, नीति तथा कानुनजस्ता विषय समावेश छन्।

अन्तिम वर्षमा शहरी योजना तथा विकास, वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन, एकीकृत जलाधार व्यवस्थापन, वातावरणीय अर्थशास्त्र, सञ्चार माध्यम र वातावरणीय मुद्दा, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थामा इन्टर्नशिप र अन्तिम अनुसन्धान परियोजना समावेश गरिएको छ।

वातावरणीय नेतृत्व निर्माण गर्ने उद्देश्य

नामी कलेजले आधुनिक कक्षाकोठा, विद्यार्थी-केन्द्रित शिक्षण प्रणाली, सहकार्यमा आधारित परियोजना, वातावरणीय अभियान, जलवायु बहस, फिल्ड अनुसन्धान, कार्यशाला तथा सेमिनारमार्फत अन्तरक्रियात्मक सिकाइ वातावरण उपलब्ध गराउने छ। अनुभवमा आधारित शिक्षा तथा नेतृत्व विकासलाई पनि सिकाइ प्रक्रियाको अभिन्न हिस्सा बनाइएको छ।

कलेजमा फुट्सल, बास्केटबल कोर्ट, इनडोर खेल, टेबल टेनिस, बिलियर्ड बोर्ड तथा प्रयोगशाला सुविधा उपलब्ध छ। यसले विद्यार्थीको शैक्षिक विकाससँगै समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास छ।

यस विषयले विद्यार्थीलाई जलवायु नेतृत्वकर्ता, सस्टेनेबल कल्सलट्यान्ट, वातावरणीय अनुसन्धानकर्ता, नीति विश्लेषक, संरक्षण अभियन्ता तथा डेभलपमेन्ट प्रोफस्नलका रूपमा विकसित गर्ने लक्ष्य राखेको छ। बदलिँदो विश्वमा केवल सैद्धान्तिक ज्ञान पर्याप्त नहुने भएकाले नेतृत्व क्षमता, अनुसन्धान सीप, विश्लेषणात्मक सोच तथा समुदायसँग काम गर्ने दक्षता विकासमा विशेष जोड दिइएको छ।

वातावरण अध्ययन प्रयोगशाला वा कक्षाकोठामा मात्र सीमित हुन सक्दैन। यसलाई प्रकृति, समुदाय, स्थानीय तह, वन, नदी, जलाधार, संरक्षित क्षेत्र तथा विकास परियोजनासँग जोडेर अध्ययन गर्नुपर्छ भन्ने अवधारणाअनुसार कार्यक्रम डिजाइन गरिएको छ।

यसअन्तर्गत विद्यार्थीले प्रत्यक्ष परियोजनामा काम गर्ने, वातावरणीय क्षेत्र भ्रमण गर्ने, अनुसन्धानमा सहभागी हुने, समुदायसँग सहकार्य गर्ने, दिगोपनसम्बन्धी व्यावहारिक तालिम लिने तथा वातावरण सरसफाइ अभियानमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

यसले विद्यार्थीलाई वर्तमान विश्वका चुनौतीसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास गरिएको छ।

यो विषय पढिसकेपछि विद्यार्थीले सरकारी निकाय, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्था, अनुसन्धान केन्द्र, जलवायु नीति निर्माण गर्ने निकाय, सस्टेनेबल परामर्श कम्पनी, नवीकरणीय ऊर्जा परियोजना, विपद् व्यवस्थापन संस्था, संरक्षण क्षेत्र तथा निजी क्षेत्रमा करियर बनाउन सक्ने छन्।

सबै विषयका विद्यार्थीका लागि अवसर

यस कार्यक्रमको एउटा महत्वपूर्ण विशेषता भनेको विज्ञान पृष्ठभूमिका विद्यार्थीमा मात्र सीमित नरहनु हो। व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, कम्प्युटरलगायत जुनसुकै शैक्षिक धारका विद्यार्थीले आवश्यक न्यूनतम योग्यता पूरा गरेपछि कार्यक्रममा अध्ययन गर्न सक्नेछन्। विदेशी विद्यार्थीका लागि पनि भर्ना खुला रहने व्यवस्था गरिएको छ।

भर्ना खुला, छात्रवृत्तिको व्यवस्था

कलेजले अगस्ट २०२६ इन्टेकका लागि भर्ना खुला भएको जानकारी दिएको छ। यो विषयमा +२ वा सो सरहको तहमा न्यूनतम १.६० सीजीपीए वा कुल प्राप्ताङ्कमा न्यूनतम ४०% सहित उत्तीर्ण गरेका वा जीसीई एडभान्स्ड लेभल अन्तर्गत ए लेभलमा न्यूनतम तीन विषय र एएस लेभलमा एक जनरल पेपर उत्तीर्ण गरी कुल पीयूएममा न्यूनतम ४०% प्राप्त गरेका नेपाली वा विदेशी विद्यार्थी भर्नाका लागि योग्य हुनेछन्।

न्यूनतम आवश्यक योग्यता पूरा गरेका विज्ञान, कला, कानुन, व्यवस्थापन, कम्प्युटर लगायत उच्च माध्यमिक तहका सबै शैक्षिक धारका इच्छुक विद्यार्थीहरूका लागि भर्ना खुला छ ।

प्रतिभाशाली तथा आर्थिक रूपमा आवश्यकता भएका विद्यार्थीलाई लक्षित गरी मेरिटमा आधारित छात्रवृत्ति, आवश्यकता आधारित आर्थिक सहयोग, दुर्गम क्षेत्र छात्रवृत्ति, विशेष क्षमता भएका तथा पहिले भर्ना गर्ने विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध छ।