काठमाडौँ । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख अनुदान दिने तयारी गरेको छ । त्यसका लागि तयार गरिएको कार्यविधिको मस्यौदामाथि सोमबार सरोकारवालासँग छलफल गरिएको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अनुदान वितरण प्रक्रिया पारदर्शी, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको बताए । उनले सरकारी लगानीबाट बन्ने चलचित्रले नेपालको इतिहास, संस्कृति, राष्ट्रिय पहिचान र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे ।
छलफलमा सहभागी चलचित्रकर्मीहरूले सरकारको अनुदान नीति सकारात्मक रहेको उल्लेख गर्दै अनुदान वितरणका लागि स्पष्ट, निष्पक्ष र वस्तुगत मापदण्ड बनाउनुपर्ने सुझाव दिएका छन् । उनीहरूले नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन्।
मन्त्रालयका अनुसार सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिइनेछ। कार्यविधि स्वीकृत भएपछि सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि अनुदान वितरण गरिनेछ।