काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ ।
अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ (HP Lubricants) ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ। ५ दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्टी एप सँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो ।
अफर अन्तर्गत खल्ती एप मा गएर वा आधिकारिक खल्तीको क्युआर (QR Code) स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण (General) र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउनेछन् । यो छुट योजना सीमित अवधिका लागि मात्र रहने भएकाले समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ ।
यस वर्षको प्रदर्शनीमा नवीनतम् ईभी (इलेक्ट्रिक) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्टका साथै वित्तीय तथा बीमा सुविधाहरू एकै ठाउँमा उपलब्ध गराइनेछन्।
५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र नयाँ प्रविधिसँग साक्षत्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई आयोजक नाडाले आह्वान गरेको छ ।