काठमाडौं । विशेष अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवै व्यवसायीको बयान र थुनछेक बहसपछि उनीहरूलाई थुनामा राख्ने आदेश गरेको हो। यसअघि नै सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई सोही अदालतमा दायर अर्को मुद्दाको सुनुवाइका क्रममा उपस्थित गराइएको थियो।
पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी रहेको दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि अभियोग लगाइएको छ। उक्त मुद्दामा पौडेललाई भने अदालतले साधारण तारिखमा छाड्ने आदेश दिएको छ।
भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न कसुरमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरूविरुद्ध विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको जनाइएको छ।
उनीहरूमाथि बीमा ऐन, बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गतका कसुरका साथै धितोपत्र र विदेशी विनिमयसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ।
अभियोजनमा भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको उल्लेख छ।
यसअघि असार ३ गते विशेष अदालतकै सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले पहिलो मुद्दामा उनीहरूलाई थुनामा पठाउने आदेश दिएको थियो। बुधबारको आदेशसँगै उनीहरूविरुद्धका अर्को मुद्दामा समेत अदालतले पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको हो।