विश्वमा विकसित भएका धेरै मार्शल आर्ट्स विधामध्ये क्वान कि डो लङफाइ स्कूल (Qwan Ki Do Long Phai School) अनुशासन, नैतिकता, आत्मरक्षा र व्यक्तित्व विकासलाई समान महत्व दिने अन्तर्राष्ट्रिय मार्शल आर्ट्सका रूपमा परिचित छ। यस मार्शल आर्ट्स विधाको पुरा नाम WORLD UNION OF QWAN KI DO – Long Phai School and Sino-Vietnamese Martial Arts हो । आज विश्वका दर्जनौं देशमा अभ्यास भइरहेको यस विधाले नेपालमा पनि आफ्नो छुट्टै पहिचान निर्माण गर्दै गएको छ। यसको अभ्यास केवल शारीरिक प्रशिक्षणमा सीमित नभई अनुशासित, जिम्मेवार र चरित्रवान् नागरिक निर्माण गर्ने जीवन दर्शनसँग जोडिएको छ।
नेपालमा क्वान कि डोको प्रवेश सन् २०२० मा ज्योति पुर्जाको पहलबाट भएको थियो। प्रारम्भिक चरणमा सीमित प्रशिक्षण कार्यक्रममार्फत सुरु भएको यस विधाले छोटो समयमै युवा, विद्यार्थी तथा खेलप्रेमीहरूको ध्यान आकर्षित गर्न सफल भयो। यसपछि यसको व्यवस्थित विकासका लागि संस्थागत संरचनाको आवश्यकता महसुस गरियो। यसै आवश्यकतालाई मध्यनजर गर्दै नेपाल क्वान कि डो संघको आधिकारिक स्थापना वि.सं. २०८० साल फागुन १६ गते (२८ फेब्रुअरी २०२४) मा गरिएको हो।
संघको स्थापना ताओ सु भुवन बुढा मगरको नेतृत्वमा भएको हो। हालै सम्पन्न संघको दोस्रो अधिवेशनबाट भिम बहादुर सुनार अध्यक्ष तथा ताओ सु भुवन बुढा मगर टेक्निकल डाइरेक्टर रहने गरी नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ। संघले नेपालमा क्वान कि डोको विकास, विस्तार, गुणस्तरीय प्रशिक्षण, अन्तर्राष्ट्रिय समन्वय तथा युवामा अनुशासन, आत्मविश्वास, आत्मरक्षा र नैतिक चरित्रको विकासलाई आफ्नो मूल उद्देश्य बनाएको छ।

नेपालमा क्वान कि डोको अभ्यास विस्तारसँगै राष्ट्रिय स्तरमा आधिकारिक संगठनको आवश्यकता बढ्दै गयो। नेपाल क्वान कि डो संघको स्थापना त्यसै आवश्यकताको परिणाम हो। यस अभियानका प्रमुख अभियन्ता ताओ सु भुवन बुढा मगर लामो समयदेखि नेपाली मार्शल आर्ट्स क्षेत्रमा प्रशिक्षक, खेलाडी तथा खेल प्रशासकका रूपमा सक्रिय छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणमार्फत प्राप्त अनुभवलाई नेपाली युवामाझ हस्तान्तरण गर्दै अनुशासनयुक्त र जिम्मेवार समाज निर्माणको अभियान सञ्चालन गरिरहेका छन्। ताओ सु भुवन बुढा मगरलाई वर्ल्ड युनियन अफ क्वान कि डोका टेक्निकल डाइरेक्टर मास्टर रोबर्टो भिस्माराले २०२५ अक्टोबरमा, काठमाडौँमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय क्वान कि डो प्राविधिक सेमिनार तथा कार्यशाला-२०२५ कार्यक्रममा पाँचौ डनको उपाधि प्रदान गरेका थिए ।
संघले विश्व संगठनका सिद्धान्त, प्राविधिक मापदण्ड र प्रशिक्षण प्रणालीलाई आत्मसात् गर्दै नेपालमा गुणस्तरीय प्रशिक्षक उत्पादन, नियमित ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता, प्राविधिक सेमिनार तथा अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकतामा राखेको छ।
विश्वव्यापी रूपमा फैलिएको “वर्ल्ड युनियन अफ क्वान कि डो”
क्वान कि डोको आधुनिक इतिहास सन् १९८१ बाट औपचारिक रूपमा सुरु भएको मानिन्छ। स्थापनापछि छोटो समयमै यो विधाले फ्रान्स, इटाली हुँदै युरोप, एशिया, अमेरिका र अफ्रिकाका विभिन्न मुलुकमा उल्लेखनीय विस्तार हासिल गर्यो। आ वर्ल्ड युनियन अफ क्वान कि डो विश्वका धेरै देशमा अभ्यास गरिने सम्मानित अन्तर्राष्ट्रिय मार्शल आर्ट्स विधा बनेको छ।
क्वान कि डोको विश्वव्यापी समन्वय र एकरूपता कायम राख्ने उद्देश्यले सन् १९८१ मा वर्ल्ड युनियन अफ क्वान कि डो (World Union of Qwan Ki Do) को आधारशिला राखियो। पछि सन् १९८९ मा इटालीको मिलानमा यसलाई कानुनी रूपमा दर्ता गरियो। यस विश्व संगठनको मुख्य उद्देश्य विश्वभरका राष्ट्रिय संघहरूबीच समन्वय गर्ने, समान प्रशिक्षण प्रणाली लागू गर्ने, प्राविधिक गुणस्तर कायम राख्ने तथा क्वान कि डोको नैतिक, दार्शनिक र सांस्कृतिक मूल्यलाई विश्वभर प्रवर्द्धन गर्नु रहेको छ।
स्थापना काल देखि नै वर्ल्ड युनियन अफ क्वान कि डो ले महादेशीय तथा विश्वस्तरीय प्रतियोगिता सञ्चालन र अन्तर्राष्ट्रिय प्राविधिक मापदण्ड निर्धारण गर्दै आएको छ। यसको अन्तर्राष्ट्रिय विस्तारमा माएस्ट्रो रोबर्टो भिस्माराको योगदान विशेष रूपमा उल्लेखनीय छ। उनको असाधारण प्राविधिक दक्षता, नेतृत्व क्षमता र संगठनात्मक योगदानका आधारमा माएस्ट्रो रोबर्टो भिस्मारालाई प्रारम्भमा वर्ल्ड युनियन अफ क्वान कि डोको महासचिव (General Secretary) र त्यसपछि महाप्रबन्धक (General Manager) नियुक्त गरिएको थियो।
किन आवश्यक छ क्वान कि डो?
आजको नेपाली समाजमा युवापुस्ताले कुलत, हिंसा, मानसिक तनाव, बेरोजगारी, सामाजिक विचलन र आत्मविश्वासको कमी जस्ता चुनौती सामना गरिरहेका छन्। यस्ता चुनौतीको समाधानका लागि खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ भन्ने विश्वास नेपाल क्वान कि डो संघले राखेको छ।
संघले अनुशासित र जिम्मेवार युवा शक्ति निर्माण, महिला तथा बालबालिकाका लागि आत्मरक्षा प्रशिक्षण, व्यक्तित्व विकास, राष्ट्रिय खेल संस्कृतिको विस्तार, अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा प्रशिक्षक उत्पादन, नेतृत्व विकास तथा सामाजिक सेवामा युवाको सहभागिता अभिवृद्धिलाई आफ्नो प्राथमिकतामा राखेको छ।
क्वान कि डो केवल लडाइँ गर्ने कला होइन। यो आत्मअनुशासन, सम्मान, धैर्यता, आत्मनियन्त्रण र निरन्तर सिकाइको जीवन दर्शन हो। यसले व्यक्तिलाई आफूलाई सम्मान गर्न, अरूलाई सम्मान गर्न, कठिन परिस्थितिमा संयमित रहन र जीवनभर सिकिरहन प्रेरित गर्छ।
यसै कारण नेपाल क्वान कि डो संघको आदर्श वाक्य पनि अत्यन्त अर्थपूर्ण छ– “पहिले असल मानिस बन, त्यसपछि महान खेलाडी बन।”
भविष्यको यात्रा :
नेपाल क्वान कि डो संघले विश्व संगठनसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षक उत्पादन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता विस्तार, प्राविधिक विकास तथा विश्वस्तरीय प्रशिक्षण प्रणालीलाई नेपालमा स्थापित गर्ने दीर्घकालीन योजना अघि सारेको छ।
खेल केवल पदक जित्ने माध्यम मात्र होइन; यो चरित्र निर्माण, अनुशासन, नेतृत्व, आत्मविश्वास र राष्ट्र निर्माणको आधार पनि हो। यही विश्वासका साथ नेपाल क्वान कि डो संघले आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।
संघको मूल आदर्श वाक्यले यसको सम्पूर्ण दर्शनलाई स्पष्ट रूपमा व्यक्त गर्दछ– “अनुशासन हाम्रो शक्ति, सम्मान हाम्रो पहिचान, सेवा हाम्रो धर्म।”