काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुक्रबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित उपकुलपति सिफारिस समितिले बरालसहित प्रा.डा. बालचन्द्र लुइँटेल र प्रा.डा. राजेन्द्र जोशीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। समितिले मेरिटका आधारमा उम्मेदवार छनोट गरिएको जनाएको छ।
केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बराल विश्वविद्यालयमै अध्ययन गरेर त्यही संस्थाको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्स उनको प्रमुख विज्ञताको क्षेत्र हो। केयूमा उनले ऊर्जा तथा वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन र हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन्। उपप्राध्यापक र सहप्राध्यापक हुँदै उनी प्राध्यापक बनेका हुन्।
उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका थिए। तीमध्ये १० जनाको सूची सार्वजनिक गरी प्रस्तुति तथा अन्तर्वार्ता लिइएको थियो। सो प्रक्रियापछि समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन्।