काठमाडौं । विगत ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि विभिन्न स्वास्थ्य संस्था, होटल तथा रेस्टुरेन्टहरूसँग समन्वय गरी विशेष छुटको व्यवस्था गरेको छ।
बैंकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई लक्षित गरी यो योजना ल्याएको जानकारी दिएको हो। सम्झौता अनुसार ग्राहकहरूले सातवटा विभिन्न संस्थाहरूमा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
कहाँ-कहाँ पाइन्छ छुट?
सम्झौता अनुसार बैंकका ग्राहकले बुद्धनगरस्थित अल्फा केयर डायग्नोस्टिक सेन्टर र कलंकीको दृष्टि आई केयरमा स्वास्थ्य परीक्षण तथा उपचारमा २० प्रतिशत सम्म छुट पाउनेछन्।
त्यसैगरी, होटल तथा रेस्टुरेन्टतर्फ कुरिनटारको मनकामना हिलक्रेष्ट होटलमा १२.५ प्रतिशत, ठमेलको एलोफ्ट काठमाडौंमा १५ प्रतिशत, दरबारमार्गको ओरियन्ट क्याफेमा १५ प्रतिशत र हेटौंडाको होटल स्मारकमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
लाजिम्पाटस्थित एल्लो हात्तीबाट उपहार सामग्री खरिद गर्दा ग्राहकले १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
यसैबीच, बैंकले ग्राहकलाई आधुनिक प्रविधिसँग जोड्न काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको ‘डिजिटल हब’ समेत सञ्चालनमा ल्याएको जानकारी दिएको छ। गुणस्तरीय वित्तीय सेवाका लागि प्रतिबद्ध रहेको महालक्ष्मी विकास बैंकले आगामी दिनमा पनि यस्ता ग्राहकमुखी योजनाहरू ल्याउने बताएको छ।