काठमाडौँ। साउनमा रोजगारीका लागि ७० हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ७० हजार ४४१ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।
साउनमा विदेश जाने नेपालीको संख्या असारको तुलनामा एक हजार ७९ ले बढेको छ । असारमा ६९ हजार ३६२ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
साउनमा विदेश जान श्रम स्वीकृति लिनेहरुमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन् ।
साउनमा नयाँ श्रम स्वीकृति लिएर ४२ हजार ६९३ तथा पुन: श्रम स्वीकृति लिएर २७ हजार ७ ४८ जना विदेशिएको तथ्यांक छ ।
यसमध्ये दक्ष कामदारको संख्या ४० हजार ४९६, अदक्ष कामदारको संख्या १७ हजार ९९९ जना र अर्धदक्ष कामदारको संख्या ११ हजार ४६५ रहेको छ । यस्तै, साउनमा १०३ जना उच्च दक्ष र ३७८ जना व्यावसायिक कामदार रोजगारीका लागि पलायन भएको देखिएको छ ।
गन्तव्य मुलुकतर्फको तथ्यांक हेर्दा साउनमा सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । यूएई १८ हजार ७८४ नेपाली गएका हुन्। त्यसपछि १२ हजार ४९८ नेपाली मलेसिया गएको देखिन्छ ।
यस्तै, साउनमा १० हजार ३६० जना कतार, ८ हजार ६१३ जना साउदी अरब र ४ हजार ५६७ जना कुवेत गएका छन्।
त्यसपछि युरोपेली गन्तव्य मुलुक रोमानिया जाने नेपालीको संख्या अधिक छ । साउनमा काम खोज्दै २ हजार ९०८ जना नेपाली रोमानिया पुगेको तथ्यांक छ ।
यस अवधिमा १ हजार २४४ जना जापान पुग्दा १ हजार १७९ जना पोर्चुगल र १ हजार २१ जना टर्की गएका छन् ।