काठमाडौँ । बलिउडका चर्चित अभिनेता राजपाल यादव पछिल्लो समय फिल्मसँगै व्यक्तिगत र कानुनी विषयका कारण चर्चामा छन् । यसैबीच उनका प्रशंसकका लागि खुसीको खबर आएको छ । राजपालले एकैपटक १२ नयाँ फिल्ममा काम गर्ने सम्झौता गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यी सबै फिल्म आगामी १० वर्षको अवधिमा प्रदर्शन गर्ने तयारी छ । १२ वटै फिल्मको कुल बजेट करिब १२०० करोड भारु रहेको बताइएको छ ।
यी फिल्मको छायांकन सन् २०२७ देखि सुरु गर्ने तयारी गरिएको छ । यससँगै राजपाल आगामी धेरै वर्षसम्म लगातार फिल्ममा देखिने सम्भावना छ । यस ठूलो परियोजनालाई फक्स स्टुडियोको समर्थन रहेको बताइएको छ ।
राजपालले पनि यस परियोजनाप्रति उत्साह व्यक्त गरेका छन् । उनले कलाकारका रूपमा दर्शकका लागि राम्रो र सम्झनलायक काम गर्न आफू सधैँ इच्छुक रहेको बताएका छन् । उनका अनुसार यी १२ फिल्म आफ्नो चलचित्रप्रतिको प्रेम देश तथा विश्वभर पुर्याउने ठूलो अवसर हुन् ।
राजपालले परियोजनासँग जोडिएका सबैप्रति आभार व्यक्त गरेका छन् । उनले डा. अजय कुमार, केभिन किशोर कौल, फोकस पेट्रोलियम समूहसहित सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन् । उनले यो परियोजना कुनै एक व्यक्तिको सपना मात्र नभई धेरै मानिसको मेहनत र सहयोगको परिणाम भएको बताएका छन् । यी फिल्ममार्फत नयाँ अध्याय सुरु हुन लागेको भन्दै उनले आफूलाई यस्तो टोलीको हिस्सा बन्न पाउँदा खुसी र सम्मानित महसुस भएको बताए ।
राजपालले सबैको सहयोग र शुभकामनाबाट यी फिल्मले दर्शकलाई विशेष अनुभव दिने तथा आगामी धेरै वर्षसम्म सम्झनलायक बन्ने विश्वास व्यक्त गरेका छन् ।