काठमाडौं । नामी कलेजको आर्थिक सहयोग र स्टार्टअप डिस्कभरी एसिया (SDA) को कार्यान्वयनमा सञ्चालित ‘नामी क्लाइमेट एआई भेन्चर बिल्डर’ कार्यक्रमको बुधबार एक भव्य समारोहका साथ समापन गरिएको छ । ‘नामी क्लाइमेट एआई लन्चप्याड’ नाम दिइएको यस समापन कार्यक्रमले विद्यार्थीहरूको ६ महिना लामो कडा परिश्रम र नवप्रवर्तनलाई उत्सवको रूपमा मनाएको छ।
काठमाडौँको ‘बनमान्छे, द हिमालयन कोर्टयार्ड’ मा आयोजित ‘डेमो डे’ मा नौवटा उत्कृष्ट टोलीले आ-आफ्ना व्यावसायिक योजनाहरू प्रत्यक्ष प्रस्तुत गरे।
उक्त कार्यक्रममा १३० जनाको सहभागिता थियो। जसमा शिक्षा क्षेत्रका २८ प्रतिनिधि, उद्यमशीलता सहायता संस्थाका २६, उद्यमी २५, विकास एजेन्सीका ९, भेन्चर क्यापिटलिस्ट ७, बैंक तथा वित्तीय संस्थाका ३ र १८ जना लगानीकर्ता, जलवायु विज्ञ तथा प्रविधि प्रेमीहरू थिए।
प्रतियोगितामा छानिएका तीन विजेता टोलीले आ-आफ्नो अवधारणालाई बजारमा लैजान जनही १ लाख रुपैयाँ ‘सिड ग्रान्ट’ (बिउ पूँजी) प्राप्त गरे।
पुरस्कार पाउने टोलीहरूमा ‘रक्षा’ (Raksha) ले ‘स्केल फर इम्प्याक्ट अवार्ड’ जित्यो भने ‘ग्रिडफ्लक्स’ (Gridflux) ले ‘मस्ट इनोभेटिभ युज अफ एआई’ (एआईको उत्कृष्ट प्रयोग) को उपाधि पायो। त्यसैगरी, ‘ल्होता रिसाइकलबल्स’ (Lhota Recyclables) ‘मस्ट इन्भेस्टेबल’ (लगानीका लागि उत्कृष्ट) टोलीका रूपमा घोषित भयो।