काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले भारतको राष्ट्रिय टिमका पूर्व खेलाडी केएस भरतलाई भित्र्याएको छ । काठमान्डु गोर्खाजले भरतलाई भित्र्याएको औपचारिक घोषणा गरेको हो ।
३२ बर्षिय आन्ध्रप्रदेशका विकेट किपर ब्याट्सम्यान भरतले भारतका लागि ७ टेस्ट खेलेका थिए । उनले अन्तिम खेल २०२४ मा इङल्याण्डविरुद्ध खेलेका थिए । आइपिएलमा उनले दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स , कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुमा रहेपनि प्रयाप्त खेल्ने अवसर भने पाएका थिएनन् ।
तर भरत भारतको घरेलु क्रिकेटमा भने प्रदर्शन उत्कृष्ट रहेको छ । उनले फर्स्ट क्लास क्रिकेटमा ११३ खेल खेल्दै ३६.५३ को औसतले ११ शतक र ३४ अर्धशतकसहित ६ हजार १०२ रन बनाएका छन् । उनले अहिलेसम्म ९१ टी-२० खेल खेल्दै १८१२ रन बनाएका छन्, जसमा ११ अर्धशतक रहेका छन् ।
करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ ।