• २०८३ भदौ ७
  • 2026 August 23, Sunday

“समाज क्रुर समयबाट गुज्रिँदैछ,कलाकारको सिर्जना उसको चेतनाको ऐना हो”

कलाकारले कस्तो गीत गाउँछ वा कस्तो सिर्जना बजारमा ल्याउँछ भन्ने कुरा उसको व्यक्तिगत चेतना र बुझाइमा भर पर्छ

  • २०८३ भदौ ७, आइतबार २०:३४

काठमाडौँ,पछिल्लो समय नेपाली समाजमा घटिरहेका घटना र बदलिँदो सामाजिक परिवेशका कारण मानवीय संवेदना हराउँदै गएकोमा कलाकारहरूले चिन्ता व्यक्त गरेका छन्। गायक तथा सर्जक वसन्त थापा र प्रकाश पराजुलीसँग गरिएको एक विशेष संवादमा उनीहरूले समाजको वर्तमान अवस्था, चेतनाको स्तर र कलाकारको स्वतन्त्रताका विषयमा गम्भीर मन्थन गरेका हुन्।

संवादका क्रममा गायक वसन्त थापाले हामी अहिले ‘असाध्यै क्रुर समय’ मा बाँचिरहेको टिप्पणी गरे। समाजमा दिनहुँ हुने बलात्कार, हिंसा र अमानवीय घटनाहरूले मानिसको चेतनाको स्तर कुन हदसम्म खस्किएको छ भन्ने प्रष्ट पारेको उनको तर्क छ। “जस्तो समाज हुन्छ, त्यस्तै नेतृत्व र कलाकार उत्पादन हुन्छन्,” थापाले भने, “समाजको ऐना नै कला र राजनीति हो।”

कुनै पनि कलाकारले कस्तो गीत गाउँछ वा कस्तो सिर्जना बजारमा ल्याउँछ भन्ने कुरा उसको व्यक्तिगत चेतना र बुझाइमा भर पर्ने उनीहरूको निष्कर्ष छ। कलाकारले आफ्नो बौद्धिक स्तर र समाजलाई हेर्ने दृष्टिकोण अनुसार नै शब्द र संगीतको छनोट गर्ने हुँदा, सिर्जनामा कलाकारको ‘बौद्धिक प्रतिविम्ब’ देखिने उनले बताए।

व्यक्तिगत स्वतन्त्रता र आलोचनाको सीमा पछिल्लो समय सामाजिक सञ्जालमा कसैको सिर्जनामाथि हुने तीव्र टीका-टिप्पणीका विषयमा पनि उनलेले धारणा राखेका छन्। “प्रत्येक व्यक्ति र कलाकारको आफ्नो स्वतन्त्रता हुन्छ। उसले के गाउने र के सिर्जना गर्ने भन्ने उसको निजी अधिकारको कुरा हो,” प्रकाश पराजुलीले भने। कसैको सिर्जना मन नपर्नु एउटा कुरा भए पनि, व्यक्तिको स्वतन्त्रता र उसको सिर्जना गर्ने शैलीमाथि नै प्रहार गर्नु उचित नहुने तर्क छ।

कुन सिर्जनालाई स्वीकार गर्ने र कुनलाई अस्वीकार गर्ने भन्ने अन्तिम निर्णय श्रोता र दर्शककै हातमा हुन्छ। त्यसैले, सिर्जनामाथि गाली-गलौज गर्नुभन्दा पनि त्यसको सामाजिक प्रभाव र गुणस्तरलाई मूल्याङ्कन गरिनुपर्नेमा जोड दिएका छन्।

  • २०८३ भदौ ७, आइतबार २०:३४