• २०८३ भदौ १०
  • 2026 August 26, Wednesday

भोटेकोसी बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन, प्रभावित क्षेत्रमा नजान एड्भाइजरी जारी

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन्।

बुधबार बिहान करिब ८ः३० बजे तिब्बततर्फबाट भोटेकोसी नदी हुँदै आएको बाढीले तातोपानी र स्याफ्रुबेँसी क्षेत्रमा प्रभाव पारेको छ। बाढी तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा थप जोखिम बढेको बोर्डले जनाएको छ।

सम्पर्कविहीन पर्यटकको विवरण ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन, पर्यटक प्रहरी तथा सुरक्षा निकायसँगको समन्वयमा संकलन गरिएको हो। बोर्डले उपलब्ध विवरणको थप प्रमाणीकरण र प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना सबैभन्दा धेरै सम्पर्कविहीन छन्। उनीहरूमध्ये ७७ विदेशी र १५ नेपाली छन्। सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना सम्पर्कबाहिर छन्, जसमा ५९ भारतीय र १२ नेपाली छन्।

त्यस्तै लिफ होलिडेजका ५५ जना, हिमालयन ग्लेशियरका ५२ जना, कैलाश जर्नीका ३१ जना, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना र अल्पाइन इको ट्रेकका २० जना सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

यसैगरी काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना, ऋचा टुर्स एन्ड ट्राभल्सका १२ जना र एक्सप्लोर भ्याकेसनका ७ जना पनि सम्पर्कमा आउन सकेका छैनन्।

फिस्टेल टुर्स एन्ड ट्राभल्समार्फत गएका सम्पर्कविहीनमध्ये २० विदेशी र ७ नेपाली छन्। अल्पाइन इको ट्रेकका २० जनामध्ये १६ विदेशी र ४ नेपाली रहेका छन्। बोर्डका अनुसार एक्सप्लोर भ्याकेसनमार्फत गएका सम्पर्कविहीन ७ जना नेपाली पदयात्री हुन्।

सञ्चार सम्पर्क विच्छेद हुँदा खोजीमा चूनौति

बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले पर्यटकको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ। बोर्डले ट्राभल एजेन्सी र स्थानीय तहबाट प्राप्त विवरणलाई सुरक्षा निकाय तथा गाइडसँग समन्वय गरेर थप स्पष्ट पार्ने काम भइरहेको जनाएको छ।

बाढीको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बोर्डले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा भोटेकोसी–त्रिशूली नदी करिडोर आसपास अनावश्यक आवतजावत नगर्न भनेको छ। नदी, नदी किनार, पुल तथा होचा भूभागबाट टाढा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै, होटल, ट्रेकिङ एजेन्सी, गाइड तथा स्थानीय पर्यटन व्यवसायीसँग नियमित सम्पर्कमा रहन र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्न बोर्डले पर्यटकलाई अनुरोध गरेको छ। बाढी प्रभावित सडक, खोला वा नदी पार गर्ने प्रयास नगर्नसमेत चेतावनी दिइएको छ।

यी सडकमा यात्रा नगर्न आग्रह
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडक लगायतका प्रभावित मार्गमा तत्काल यात्रा नगर्न बोर्डले आग्रह गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पनि काठमाडौँबाट रसुवा, नुवाकोट र धादिङतर्फ जाने सवारीसाधनमा रोक लगाएको बोर्डले जनाएको छ। अवस्था सामान्य नभएसम्म ती क्षेत्रतर्फको यात्रा स्थगित गर्न पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

उद्धारका लागि हेलिकप्टर परिचालन
बाढीपछि उद्धार तथा आपत्कालीन कार्यलाई तीव्र बनाउन दुईवटा हेलिकप्टर रसुवा क्षेत्रमा परिचालन गरिएको पर्यटन बोर्डले जनाएको छ।

यसैगरी गृह मन्त्रालय तथा सुरक्षा निकायहरूले पनि नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

पर्यटन बोर्डले सम्पर्कविहीन पर्यटकको संख्या प्रारम्भिक रहेको र खोजी तथा प्रमाणीकरणको काम अघि बढेसँगै विवरणमा परिवर्तन हुन सक्ने जनाएको छ।

प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई शान्त रहन, आधिकारिक सूचनामा भर पर्न तथा सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न बोर्डले आग्रह गरेको छ।

आपत्कालीन सहयोगका लागि निःशुल्क नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ उपलब्ध गराइएको छ। सम्पर्कविहीन पर्यटकबारे कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय, पर्यटक प्रहरी वा सम्बन्धित ट्राभल एजेन्सीलाई तत्काल खबर गर्न पनि आग्रह गरिएको छ।