काठमाडौं । बाढी, डुबान तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटाउन नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सहजीकरण गरेको छ। केन्द्रीय बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका खातामा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत रकम पठाउँदा सामान्य अवस्थामा लागू हुने अधिकतम कारोबार सीमा हटाएको हो।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कारोबार गर्न अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र अन्य सम्बन्धित संस्थालाई परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा मोबाइल बैंकिङ, वेब तथा इन्टरनेट बैंकिङलगायत डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्दा दैनिक तथा प्रतिकारोबार सीमा तोकिएको भए पनि राहतका लागि तोकिएका यी दुई कोषका खातामा हुने कारोबारमा उक्त सीमा लागू नहुने स्पष्ट पारिएको छ।
सामान्य अवस्थामा मोबाइल बैंकिङमार्फत दैनिक अधिकतम ३ लाख रुपैयाँ र वेबसाइट वा इन्टरनेट बैंकिङबाट दैनिक अधिकतम २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो। विपद्का बेला ठूलो रकम सहयोग गर्न चाहने व्यक्ति, संघसंस्था तथा दातृ निकायलाई सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकले राहत कोषका लागि भने यो सीमा हटाएको हो। राष्ट्र बैंकले सम्बन्धित कोषका विभिन्न बैंकमा रहेका खाताको विवरणसमेत अनुमतिप्राप्त भुक्तानी संस्थालाई उपलब्ध गराएको जनाएको छ।
यससँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट सहयोग पठाउन छुट्टै अनलाइन भुक्तानी पोर्टलसमेत सञ्चालनमा आएको छ। राष्ट्रिय वाणिज्य बैंक तथा अन्य भुक्तानी पूर्वाधारसँग सम्बन्धित प्रणालीमार्फत तयार गरिएको pmdrf.nchl.com.np पोर्टलबाट नेपाली तथा विदेशी नागरिक र संघसंस्थाले राहत कोषमा सिधै रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ पोर्टलमार्फत नेपालभित्रका दाताले नेपालपे क्यूआर, मोबाइल बैंकिङ, कनेक्टआईपीएस र डिजिटल वालेट प्रयोग गरी सहयोग गर्न सक्नेछन्। विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय दाताका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय भिसा र मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्डबाट रकम पठाउने सुविधा पनि राखिएको छ। त्यस्तै, अलिपे प्लसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
अनलाइनबाट हुने सहयोगलाई सुरक्षित बनाउन पोर्टलमा थ्रीडी सेक्योर भेरिफाइड प्रविधि प्रयोग गरिएको जनाइएको छ। कार्ड तथा क्यूआरमार्फत रकम पठाउन सकिने भएकाले अन्तर्राष्ट्रिय दाताले लामो बैंकिङ प्रक्रिया वा कागजी झन्झटबिना राहत कोषमा सहयोग पुर्याउन सक्ने छन्।