काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (NAIMA – नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा भएको व्यापक मानवीय, भौतिक तथा आर्थिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै नाइमाले बाढीबाट जनजीवन प्रभावित हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा पुगेको ठूलो क्षतिप्रति चिन्ता प्रकट गरेको हो ।
प्रारम्भिक विवरणअनुसार बाढीले सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधारमा ठूलो असर पुर्याएको छ । यसका साथै सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना र सरकारी एवं सुरक्षा निकायका संरचनाहरूमा समेत व्यापक क्षति पुगेको नाइमाले जनाएको छ । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढी समेत बाढीबाट प्रभावित भएका छन् । मानवीय र आर्थिक क्षति अझ ठूलो हुन सक्ने अवस्थाप्रति संस्थाले गम्भीर चासो देखाएको छ ।
कठिन घडीमा प्रभावित नागरिक र व्यवसायीहरूप्रति सहानुभूति प्रकट गर्दै नाइमाले खोज र उद्धार कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय प्रशासनको उच्च सम्मान गरेको छ । भोटेकोशी र त्रिशूली नदी प्रणालीसँग जोडिएका रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन नाइमाले हार्दिक अनुरोध गरेको छ ।
विज्ञप्तिमा नाइमाले प्रभावित समुदायको साथमा रहेको र उद्धार एवं राहत कार्यमा सरकार तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको जानकारी गराएको छ । संस्थाले प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना र सबैको सुरक्षाको कामना समेत गरेको छ ।