काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा बुधबार आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सडक विभागको प्रारम्भिक आकलन अनुसार बाढीबाट करिब २० अर्ब रुपैयाँ बराबरको पूर्वाधार क्षति भएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार क्षतिमध्ये करिब १० अर्ब रुपैयाँ पुलतर्फ र अर्को १० अर्ब रुपैयाँ सडकतर्फको रहेको प्रारम्भिक अनुमान छ। बाढीले ३२ वटा मोटरेबल पक्की पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ५० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको विभागले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेकाले प्रारम्भिक अनुमान अझै बढ्न सक्ने बताइएको छ।
त्रिशूली नदी किनार हुँदै जाने करिब ८२ किलोमिटर लामो गल्छी–स्याफ्रुबेँसी–रसुवा सडकका विभिन्न खण्डमा ठूलो क्षति पुगेको छ। बाढीका कारण स्याफ्रुबेँसी–रसुवागढीबीचको सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ।
गत वर्षको बाढीपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेको उक्त सडकखण्ड फेरि प्राकृतिक विपद्को चपेटामा परेको हो। त्यस्तै, पृथ्वी राजमार्ग र गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक पनि प्रभावित भएका छन्। कोल्वुघाटको पुलमा क्षति पुगेको तथा देवीघाटको पुल बगेपछि त्रिशूली आसपासका क्षेत्रमा लेदो जम्दा यातायात सञ्चालनमा थप समस्या भएको विभागले जनाएको छ।
बाढीले पश्चिम नेपालबाट काठमाडौं जोड्ने महत्त्वपूर्ण पृथ्वी राजमार्गसमेत अवरुद्ध पारेको छ। धादिङको बैरेनी–गल्छी खण्डमा क्षति पुगेपछि यातायात प्रभावित भएको हो। काठमाडौं–मुग्लिङ सडकखण्ड पनि केही समय अवरुद्ध रहेकामा विभागले तत्काल सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।
ठूलो संख्यामा पुल बगेपछि सडक विभागसँग तत्काल वैकल्पिक पुल निर्माण गर्ने क्षमता पनि चुनौतीपूर्ण देखिएको छ। विभागसँग हाल सातवटा मात्रै बेलिब्रिज मौज्दात रहेको र तीमध्ये करिब ५० मिटर लम्बाइसम्मका पुल मात्रै रहेको जनाइएको छ।