काठमाडौँ। भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणका लागि सरकारले २० वटा उपकरण परिचालन गरेको छ। पूर्वाधार विकास मन्त्रालयले बिहिबार एक प्रेस नोट जारी गर्दै सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा उपकरण परिचालन गरिएको जनाएको हो।
मन्त्रालयले जनाए अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङहुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।
यसैगरी, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ।
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन्। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ।
पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। यद्यपि, वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नभएकाले वेत्रावतीमा बेलिब्रिज राख्ने कामलाई तीव्रता दिइएको मन्त्रालयको भनाई छ।
