काठमाडौँ। त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड पुनः सञ्चालनमा आएको छ। सडक विभागका अनुसार शुक्रबार साँझसम्म राजमार्गका विभिन्न स्थानमा थुप्रिएको लेदो, हिलो र पहिरो हटाएपछि यातायात पूर्ण रूपमा सुचारु भएको हो।
बाढीका कारण गल्छी–बैरेनीदेखि मुग्लिनसम्मको करिब १५ किलोमिटर सडकखण्ड प्रभावित भएको थियो। मलेखुनजिकका पोखरी, बाँगे र गलौदीलगायत क्षेत्रमा सडकमा थुप्रिएको लेदो हटाएपछि आवागमन सहज बनेको सडक विभागले जनाएको छ।
यसअघि बैरेनी क्षेत्रमा करिब १ हजार ४ सय मिटर र जरेखेतमा करिब ४ सय मिटर सडकमा जमेको हिलो सफा गरी केही भागमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। पुलसमेत बगाएर सडक अवरुद्ध भएको जरेखेत क्षेत्रमा पनि आवश्यक सफाइ तथा मर्मतपछि सवारीसाधन चल्न थालेका थिए।
सडक खुलाउन सडक विभागले निर्माण व्यवसायीका उपकरणसमेत परिचालन गरेको थियो। विभागका अनुसार विभिन्न स्थानमा २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा अन्य यान्त्रिक उपकरण प्रयोग गरी पहिरो र हिलो हटाउने काम तीव्र पारिएको थियो।
राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकातर्फ हुने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्गलाई राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकमार्ग तथा उपत्यकाको महत्वपूर्ण ‘लाइफलाइन’का रूपमा लिइन्छ।