काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले इप्सविचलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले ह्याट्रिक गरेका थिए । त्यस्तै ब्रायन एम्बुमोले एक गोल गरेका थिए भने एक गोल इप्सविच टाउनक ज्याकोब ग्रीभ्सले आत्मघाती गोल गरेका थिए । त्यस्तै, इप्सविचका लागि लेफ डेभिस र चुक्वा अक्पोमले एक एक गोल गरेका थिए ।
खेलको करिब आधा घण्टा पूरा भएपछि लेफ डेभिसले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै इप्सविचलाई १-० को अग्रता दिलाएका थिए । तर युनाइटेडले त्यसको केही समयपछि बराबरी गोल फर्काएको थियो । माटियस कुन्हाले दिएको पासमा फर्नान्डेसले गोल गर्दै खेल १-१ को अवस्थामा पुर्याएका थिए ।
दोस्रो हाफमा युनाइटेडले खेल आफ्नो नियन्त्रणमा लिएको थियो । ह्यारी मग्वायरको प्रहार इप्सविचका ज्याकब ग्रिभ्सलाई लागेर गोलमा परिणत भएपछि युनाइटेडले २-१ को अग्रता बनाएको थियो । उक्त गोलमा मग्वायरले हातले बल नियन्त्रण गरेको देखिएपछि विवाद उत्पन्न भए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोललाई मान्यता दिइएको थियो । त्यसपछि ग्रिभ्सले कुन्हालाई क्षेत्रभित्र लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो । फर्नान्डेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको अग्रता ३–१ बनाएका थिए । फर्नान्डेसले त्यसपछि व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि उनले दिएको पासमा एम्बुमोले गोल गर्दै युनाइटेडको अग्रता ५-१ पुर्याएका थिए ।
खेलको अतिरिक्त समयमा इप्सविचका अक्पोमले एक गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै प्रभाव पार्न सकेन । अन्ततः युनाइटेडले ५-२ को शानदार जित निकाल्दै सिजनको पहिलो जित दर्ता गरेको थियो । यस जितसँगै माइकल क्यारिकको टोलीले अघिल्लो खेलमा हल सिटीसँग बेहोरेको हारपछि उत्कृष्ट पुनरागमन गरेको छ । जितमा फर्नान्डेसको ह्याट्रिक मुख्य आकर्षण बनेको थियो । त्यस्तै लिगमा पहिलो खेल जितेको इप्सविचले भने दोस्रो खेलमा हार बेहोरेको छ ।