काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले हालैको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम ‘प्रधानमन्त्री राहत कोष’ मा जम्मा गर्ने निर्णय गरेको हो।
गत भदौ १० गते चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीले घर-सम्पत्ति र सार्वजनिक संरचनामा पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यस कठिन घडीमा सरकारको प्रयासमा साथ दिने उद्देश्यले यो सहयोग गरेको जनाएको छ।
संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे।
चेक हस्तान्तरणका क्रममा संघले विपद् प्रभावित क्षेत्रमा राहत, उपचार र पुनर्स्थापनाका लागि सरकारले चालेका कदमहरूमा निजी क्षेत्रको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, प्रभावित नागरिकहरूको दीर्घकालीन व्यवस्थापन र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन समेत सरकारलाई आग्रह गरेको छ।
संघले आगामी दिनहरूमा पनि राष्ट्रिय एकता र मानवीय भावना अनुरूप यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने जनाएको छ।