• २०८३ भदौ १८
  • 2026 September 03, Thursday

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुँदै १०३ रन बनाएको थियो । त्यस्तै, मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

नेपालले यसअघि बहराइनलाई पराजित गरेको थियो । प्रतियोगितामा अब नेपालले तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।