नवलपरासी ।नवलपरासीको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले रसुवा, नुवाकोट र धादिङका बाढी पीडितहरूको सहयोगका लागि ४ लाख २२ हजार १३ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
गएको भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि क्याम्पस परिवारले स्वैच्छिक रूपमा उक्त रकम संकलन गरेको हो। क्याम्पसले संकलित रकम नबिल बैंकमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा एकमुष्ठ जम्मा गरेको विज्ञप्तिमार्फत जनाएको छ।
क्याम्पसका अनुसार, त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरूबाट ३ लाख ६५ हजार १ रुपैयाँ र अध्ययनरत विद्यार्थीहरूबाट ५७ हजार १२ रुपैयाँ गरी जम्मा ४ लाख २२ हजार १३ रुपैयाँ संकलन गरिएको थियो।
क्याम्पस प्रमुख प्रा. गणेशमान गिरी र सञ्चालक समिति अध्यक्ष प्रा. मुक्तिराम पाण्डेद्वारा जारी विज्ञप्तिमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विपत्तिमा परेका नागरिकहरूको पीडा हाम्रो आफ्नै पीडा हो भन्ने मान्यताका साथ क्याम्पस परिवारले आफ्नो सामर्थ्य अनुसार यो सामूहिक सहयोग गरेको हो। यो केवल आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका नागरिकहरूप्रति हाम्रो ऐक्यबद्धता र सामाजिक उत्तरदायित्व पनि हो।”
क्याम्पस परिवारले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार गर्न र घाइतेहरूको स्वास्थ्य लाभका लागि कामना समेत गरेको छ।