काठमाडौं । कुमारी बैंक लिमिटेडले पीसीएएफमा आबद्ध हुँदै जिम्मेवार बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको छ ।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजानिकरुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ । यो पहलले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ ।
न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणलाई सहयोग गर्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । पीसीएएफमा आबद्ध भएर कुमारी बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्दछ । यसको बढ्दो विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दछ ।
कुमारी बैंकका लागि पीसीएएफको सदस्य बन्नु यसको व्यापक दिगोपनसम्बन्धी यात्रामा महत्वपूर्ण प्रगति हो । यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई समावेश गर्ने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्दछ ।
कुमारी बैंक लिमिटेडका सस्टेनेबल बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने ‘ पीसीएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने क्रममा तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ ।’
बैंकले दिगो वित्तका अवसरहरू विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने र नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालाहरूसँग सहकार्य गर्ने कार्यलाई निरन्तरता दिनेछ ।
देशभर व्यापक उपस्थिति रहेको कुमारी बैंक लिमिटेडले नेपालका लक्षित समुदायमा दिगो वित्तीय पहललाई विस्तार तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो स्थापित बैंकिङ्ग सञ्जालको उपयोग गर्ने राम्रो आधार राखेको छ । बैंकसँग २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२३३ POS टर्मिनलहरू रहेका छन्, यसका साथै डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ्ग तथा अन्तर्राष्ट्रिय VISA कार्ड सेवाहरू पनि उपलब्ध छन् ।
ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ्ग तथा दिगो वित्तमा केन्द्रित हुँदै कुमारी बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्दै आएको छ । बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै देशव्यापी पहुँचको उपयोग गरी समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Partnership for Carbon Accounting Financials (PCAF) सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको हो । हाल ७०० भन्दा बढी वित्तीय संस्थाहरू पीसीएएफ पहलमा आबद्ध भइसकेका छन्, पीसीएएफमा सहभागी वित्तीय संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि Global GHG Accounting and Reporting Standard विकास तथा कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको मापन तथा खुलासा गर्ने कार्य गर्छन् ।