काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि प्रसारण तथा टिकटिङ अधिकार बिक्रीसम्बन्धी प्रक्रिया पूरा गरेको छ ।
संघका अनुसार प्रत्यक्ष प्रसारण अधिकार नेटटिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ । त्यस्तै, टेलिभिजन प्रसारण अधिकार नेपाल भित्र मात्र हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा पाएको छ ।
टिकटिङ अधिकार इसेवाले ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ । सम्झौताअनुसार टिकट बिक्रीबाट हुने आम्दानीको ९५ प्रतिशत नेपाल क्रिकेट संघ र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन् ।
नेपाल क्रिकेट संघले प्रसारण तथा टिकटिङ अधिकार प्राप्त गरेका संस्थासँग सहकार्य गर्दै एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।