• २०८३ भदौ २२
  • 2026 September 07, Monday

राजनीतिक र दार्शनिक चेतनाको ‘१२ मई’ मञ्चन : ५० प्रतिशत आम्दानी बाढीपीडितलाई दिइने

काठमाडौँ । राजधानीको सम–प्रेक्षालयमा राजनीतिक तथा दार्शनिक विषयवस्तुमा आधारित नाटक ‘१२ मई’ भव्य रूपमा मञ्चन भएको छ। वरिष्ठ वामपन्थी नेता तथा साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित यस नाटकलाई नेपाल नाट्यशालाले मञ्चमा उतारेको हो।

करिब १३ सय दर्शक क्षमता भएको हल खचाखच भरिएको उक्त प्रदर्शन केवल एउटा नाटकको मञ्चन मात्र नभई सामाजिक उत्तरदायित्वको एउटा अनुकरणीय उदाहरण समेत बनेको छ। नाटक प्रदर्शनको समयमा देशका विभिन्न भाग, विशेष गरी रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी र पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै आयोजकले नाटकबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत रकम राहत र सहयोगका लागि प्रदान गर्ने निर्णय गरेको थियो।

नाटकका परिकल्पनाकार समीर सिंहका अनुसार, यो यात्रा मोहनविक्रम सिंहको पुस्तकालयमा भएको एउटा छलफलबाट सुरु भएको थियो। सुरुमा ‘गङ्गा–कावेरी एक्सप्रेस’ लाई एकाङ्कीका रूपमा ल्याउने सोच भए पनि अन्ततः लेखक सिंहको अडान र चाहना अनुसार ‘१२ मई’ लाई नै मञ्चन गर्ने निष्कर्ष निकालिएको थियो।

नेपाल नाट्यशालाका निर्देशक द्वय प्रह्लाद खरेल र सौभाग्य सिंह राईले सीमित स्रोत–साधनका बाबजुद राजनीतिक र दार्शनिक विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने चुनौतीलाई स्वीकार गरेका थिए। रक्तिम सांस्कृतिक अभियानको संयोजनमा भएको यस कार्यक्रमलाई सफल बनाउन आनन्द शर्मा, दुर्गा पौडेल र मनोज भट्ट लगायतका टोलीले व्यवस्थापकीय र आर्थिक मोर्चा सम्हालेका थिए।

भदौ २१ गते मञ्चन भएको नाटक हेर्न विभिन्न राजनीतिक दलका नेता, लेखक, साहित्यकार र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। दर्शकहरूले नाटकमा विचार र कलाको सुन्दर संयोजन भएको प्रतिक्रिया दिएका छन्। गम्भीर राजनीतिक दर्शनलाई पनि नाटकको माध्यमबाट सरल र प्रभावशाली रूपमा बुझाउन सकिन्छ भन्ने कुरा यस नाटकले पुष्टि गरेको छ।

लेखक समीर सिंहले यस सफलतालाई सामूहिक प्रयत्नको परिणाम भन्दै विपत्तिको समयमा पनि सांस्कृतिक कर्मलाई निरन्तरता दिनु र पीडितलाई सहयोग गर्नु नै यस नाटकको वास्तविक मर्म रहेको बताएका छन्। नाटकमा संलग्न कलाकारहरूको मेहनत र निर्देशकहरूको सिर्जनात्मकताले नाटकलाई जीवन्त बनाएको सहभागीहरूको ठम्याइ छ।