काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले थप ५५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
भदौ २४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडका गुणकमा रकम प्रस्ताव गर्न सकिनेछ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै ५५ अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गर्नेछ। माग बढी भएमा प्रो–राटा आधारमा रकम वितरण गरिनेछ। संकलित रकमको साँवा तथा ब्याज कात्तिक १८ गते भुक्तानी हुनेछ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न मौद्रिक उपकरणमार्फत बैंकिङ प्रणालीबाट १३ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ खिचिसकिएको छ। त्यसमध्ये ९ खर्ब ३ अर्ब ६० करोड निक्षेप संकलन उपकरण र ४ खर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत व्यवस्थापन गरिएको हो।
बैंकिङ प्रणालीमा निक्षेप बढे पनि कर्जा विस्तार सुस्त हुँदा अतिरिक्त तरलता बढेको हो। भदौ १७ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५९ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ। कर्जा–निक्षेप अनुपात ७१.२८ प्रतिशतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ।
प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेकाले राष्ट्र बैंकले तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलनलगायत मौद्रिक उपकरणको प्रयोगलाई निरन्तरता दिएको छ।